२३ बैशाख २०८१, आईतवार
Follow Us

अन्तर्राष्ट्रिय कानुनका विज्ञ सुवेदीको पुस्तक लण्डन र न्यूयोर्कबाट एकैसाथ

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार ०५:४३

अन्तर्राष्ट्रिय कानुनका विज्ञ डा. सूर्य प्रसाद सुवेदीको आत्मवृत्तान्त ‘मानवअधिकार, कानुन, र न्यायको क्रियाशीलताः नेपालदेखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा’ प्रकाशित भएको छ।

बेलायतको प्रतिष्ठित प्रकाशन गृह रौटलेजले डा. सुवेदीको आत्मवृत्तान्त लन्डन र न्यूयोर्कबाट एकसाथ प्रकाशित गरेको हो।

उक्त पुस्तकमा सुवेदीले आफ्नो शैक्षिक करिअर, राष्ट्रसंघ, विश्वका विभिन्न मुलुकका सरकारका उच्च ओहदामा काम गर्दाका अनुभव र नोबेल पुरस्कारमा मनोनयन हुँदाको क्षणबारे वर्णन गरेका छन्।

सुवेदीले केही वर्ष नेपालको सरकारी सेवामा पनि जागिर खाएका थिए।

उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोध ग्रन्थ पुरस्कार पाएका थिए।

उनी अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली पनि हुन्। सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाटै कानुनमा महाविद्यावारिधि समेत गरिसकेका छन्।

लमजुङको खुदीमा जन्मेर साधारण गाउँले विद्यालयबाट पढाई शुरु गरेका सुवेदी अन्तर्राष्ट्रिय न्यायविद्का रुपमा प्रख्यात छन्।

आत्मवृत्तान्तमा सुवेदीले आफ्नो जीवनका आरोह अवरोह समेटेका छन्।

सुवेदी बेलायती महारानीबाट अफिसर अफ दि अर्डर अफ दि ब्रिटिश अम्पायर भन्ने उच्चस्तरको उपाधि पाउने पहिलो नेपाली समेत हुन्।

बेलायतका प्रखर कानुनविद्ले पाउने कुइन्स काउन्सिल भन्ने उपाधि समेत उनले पाएका थिए।

सुवेदी विगतमा संयुक्त राष्ट्रसंघका तर्फबाट कम्बोडियाका लागि मानवअधिकार विशेष प्रतिवेदकका रुपमा काम गरिसकेका छन्।

उनले बेलायती विदेशमन्त्रीको सल्लाहकार समूहमा बसेर पनि केही समय काम गरेका थिए। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण युनियनको कानुनी सल्लाहकारका रुपमा पनि उनले काम गरिसकेका छन्।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारका पक्षमा योगदान दिएकोमा कदर गर्दै डा. सुवेदीलाई संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको पदमा समेत मनोनयन गरेको थियो।

सुवेदीको आत्मवृत्तान्त अंग्रेजी भाषामा प्रकाशित छ।