खोटाङ । शिल्पी थिएटरले खोटाङको दिक्तेल बजारमा मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको छ । खोटाङ रंगमञ्चको संयोजनमा शिल्पी थिएटरले आइतबार साँझ दिक्तेलको पुरानो बेसक्याम्पस्थित हेलीप्याडमा सडक नाटक ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको हो ।
शिल्पी थिएटरले विभिन्न जिल्लाका गाउँ तथा नगरमा पुग्नेगरी घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक प्रदर्शन सुरु गरेको हो । ३ वैशाखदेखि मन्थलीबाट सुरु गरिएको नाट्य यात्रा ११ बैसाखसम्म सञ्चालन हुने शिल्पी थिएटरले जनाएको छ । ‘अलिकति उज्यालो’मा देशको राजनीतिक बेथिति, चुनौती र दुःखका बीचमा नागरिकबीच बाँकी रहेका आशालाई झल्काइएको छ ।
मुक्त रंगमञ्चमा स्थानीय सरकारले जनचाहना बिपरित भ्यू–टावर, पार्क जस्ता कंक्रिटका संरचना निर्माणमा जोड दिएको तर किसानलाई मल, बीउ र सिँचाई, नागरिकलाई स्तरीय स्वास्थ्य सेवा र शिक्षाको प्रवन्ध गर्नमा ध्यान नदिएको भन्दै व्यंग्या गरिएको छ । राजनीतिक, सामाजिक र साँस्कृतिक बेथिति विरुद्ध अभियानको आवश्यकतालाई मध्यनजर गर्दै थिएटरले खुल्ला ठाउँमा सिर्जनात्मक र स्वतन्त्र रंगकर्म अभियान चलाएको जनाएको छ ।
‘अलिकति उज्यालो’ क्रमशः भोजपुर, धनकुटा, बसन्तपुर, च्याङथापु, इलाम, बिर्तामोड र मोरङमा प्रदर्शन गरिने छ । मुक्त रंगमञ्चमा पवित्रा खड्का, संगीता उराँव, मानहाङ लावती, ज्योती पोख्रेल, रविन परियार, गोबिन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजिव थुलुङ राई, सुशीला लुहार, अजय लामा, संजय शाहीको अभिनय देख्न सकिन्छ ।