२० बैशाख २०८१, बिहीबार
Follow Us

लेष्टरमा नेपालीले मनाए महारानीको प्लाटिनम जुब्ली (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७९, मंगलवार १९:४१

लन्डन । बेलायती महारानी एलिजावेथ द्वीतीयाले राज्यरोहण गरेको ७० वर्ष (प्लाटिनम जुब्ली) को उपलक्ष्यमा नेपाली समुदायले पनि खुशीयाली सांटेको छ ।

नेपाली शैलीमा पन्चे बाजाको धुनसहित ६५० बढी नेपालीको उपस्थितिमा नेपाली मौलिक सांस्कृतिक माहोलले प्लाटिनम जुब्ली समारोह पृथक बन्यो ।

सिर्जनशील लेष्टर नेपालले सोमबार सांझ लेष्टरमा गरेको विशेष कार्यक्रममा महारानीको दीर्घजीवनको कामना गर्दै बेलायतका नेपालीले रानीलाई बधाइ पनि दिए ।


सिर्जनशील लेष्टर नेपालका अध्यक्ष नारायण फुयांलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली शैलीमा आयोजित कार्यक्रमले बेलायत तथा नेपालबीचको दुई देशीय सम्बन्धको ऐतिहासिकता र विशिष्टता उजार गरेको टिप्पणी गरे ।

बेलायतवासी नेपालीहरुको तर्फबाट महारानीको सुस्वास्थ्य एवम दीर्घायूको कामना गर्दै उनले दुई देशबीचको सम्बन्ध पनि आगामी दिनहरुमा अझै बढि सुमधुर रुपमा अघि बढदै आशा व्यक्त गरे ।
त्यसअवसरमा लेष्टर इष्ट क्षेत्रकी बेलायती सांसद क्लडिया वेब, लेस्टरका मेयर जर्ज कोल लगायतका बेलायती अतिथिहरुले महारानीको प्लाटिनम जुब्लीलाई उत्सवका रुपमा मनाउने बेलायतका नेपालीप्रतिआभार व्यक्त गरे ।

नेपाल र बेलायतबीच जनस्तरमा रहंदै आत्मीय सम्बन्धलाई झन बलियो बनाउने काम कार्यक्रमले गरेको धारणा उनीहरुको थियो ।

कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिम्खडा र युरोप उपसंयोजक दयानिधि सापकोटा, बीबीसी मास्टर सेफ सन्तोष साह, एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेल, रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाट, साझा नेपाली समाज यूकेका कार्यवाहक अध्यक्ष कृष्ण खरेल, सिर्जनशील लेष्टर नेपालका संस्थापक अध्यक्ष राजु कंडेललगायत वक्ताले मन्तव्य राखेका थिए ।


कार्यक्रमका सभापति एवं आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयांलले कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा बेलायतभरबाट उपस्थित नेपाली समुदायका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममार्फत बेलायत नेपाल सम्बन्धको उचाई बढने र बेलायती समुदायसंग यहांको नेपाली समुदायको सम्बनध थप निकट बन्ने अपेक्षा आफूहरुले राखेको उनले बताए ।

महासचिव पुण्डरी अर्यालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य दिंदै सचिव शिव पराजुलीले सिर्जनशिल लेष्टर नेपालको संक्षिप्त परिचय र प्लाटिनम जुब्ली कार्यक्रमको सोचबारे जानकारी गराए ।

कार्यक्रमका अतिथिहरुलाई संस्थाका सचिव लक्ष्मण गौतम र सदस्य माया प्रधानले खादा तथा ब्याज वितरण गरेका थिए। हल व्यवस्थापन उपाध्यक्ष शिव गौतमले गरेका थिए ।

कार्यक्रममा लेष्टर र मिडल्याण्डका पिटरबरो, नटिङहम, बर्मिङहम, वुल्भरह्याप्टन, गान्थम, यार्डली, डर्बी साथै लन्डन, अल्डरसट, रेडिङ, नर्दन आयरल्यान्ड र स्कटल्याण्डबाट समेत उल्लेख्य नेपाली तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

सो अवसरमा वीरु लामा, कल्पना श्रीपाल, शान्तीरानी परियार, विशाल रायमाझी, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, भूमिका शाह, तुल्सी क्षेत्री लगायतका राष्टिय स्तरका गायकगायिकाले प्रस्तुति गरेका थिए। मोडल रीना थापामगरसहित स्थानीय एक दर्जन कलाकारले नेपाली गीतमा आकर्षक नृत्य देखाएका थिए । कार्यक्रमको अन्त्यमा डिजे डान्समा समेत सहभागीहरु रमाएका थिए ।

तस्विरहरु: नरेन्द्र बस्नेत/ शिव भन्डारी