लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको विवाद मिलाउन संघले एक उच्चस्तरिय समिति गठन गरेको छ ।
संघको निर्देशन अनुसार सदस्यता शुल्क नतिरे पछि एनआरएनए यूकेको कार्यसमिति खारेजीको प्रकृयामा अघि बढेपछि संघको आइतवार बसेको पदाधिकारी बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्वमा एक समिति गठन गरेको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।
समितिमा यूकेबाट संघको केन्द्रीय समितिमा प्रतिनिधत्व गर्ने सबै पदाधिकारीहरु सदस्य रहने छन् ।
समितिमा संघका उपाध्यक्षद्धय डा. हेम राज शर्मा, प्रकाश गुरुङ्ग, उपमहासचिवद्धय रामशरण सिमखडा, विनय अधिकारी, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, महिला संयोजक संगिता मरहट्ठा, युरोप सहसंयोजकद्धय दयानिधि सापकोटा, ललित न्यौपाने र आइसीसी सदस्यहरु राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, दिनेश घिमिरे, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल छन् ।
एनआरएनए यूकेका अध्यक्ष प्रेमगाह मगरले शनिवार एक विज्ञप्ति जारी गर्दै महासचिव खुशी लिम्बुलाई परस्पर विरोधी सूचना सम्प्रेषण गरेको भन्दै कार्यसमितिले स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ ।
गैर आवासीय नेपाली संघ यूके कार्यसमितिको २५ जुनमा सम्पन्न पूर्ण बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकले संघकातर्फबाट गर्नुपर्ने आधिकारीक सूचना तथा पत्राचार लगायत कार्यहरु सचिवहरु ज्ञानेन्द्र आले, नम्रता घले र विष्णु चालिसेमार्फत गराउने निर्णय गरेको छ । संघभित्रको चर्को विवादकाबीच आगामी अगष्टमा साधारणसभाको तयारी गरिएको छ ।