१६ जेष्ठ २०८१, बुधबार
Follow Us

फर्कियो चिनियाँ जनकंग्रेसको टोली, सभामुखले गरे बिदाइ

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७९, बिहीबार ०४:४०

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ ।

उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका लीले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । अध्यक्ष ली नेतृत्वमा छ चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अन्यसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।