१४ बैशाख २०८१, शुक्रबार
Follow Us

न्युकासलसँग आर्सनल बराबरीमा रोकियो

नेपालब्रिटेन संवाददाता
२० पुष २०७९, बुधबार ०४:५१

लन्डन । शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ । आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंक दुरी बढाउने अवसरबाट चुकेको छ ।

घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो । बराबरीसँगै शीर्ष स्थानको आर्सनलको १७ खेलबाट ४४ अंक पुगेको छ भने त्यस्तै १७ खेलबाट ३५ अंक जोडेको न्युकासल तेस्रो स्थानमा छ ।

लेस्टर सिटी फुल्हमसँग पराजित
मंगलबार राति भएको खेलमा लेस्टर सिटी फुल्हमसँग १–० ले पराजित गरेको छ। फुल्हमका लागि एलेक्सान्डर मित्रोभिचले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । पराजित लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा छ भने जितसँगै फुल्हम १८ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

ब्राइटनले एभर्टनलाई हरायो
मंगलबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ४–१ ले पराजीत गरेकाे छ । एभर्टनको मैदानमा भएको खेलमा ब्राइटनका लागि काओरु मितोमा, इभान फर्गुसन, सोली मार्स र पास्कल ग्रसले एक एक गोल गरे । एभर्टनका डिमाराई ग्रेले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा मितोमाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा फर्गुसनले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाए । ५४ औं मिनेटमा मार्सले गोल गर्दै ब्राइटनलाई ३–० को अग्रता दिलाए । ५७ औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई ४–० ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिमाराई ग्रेले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए पनि ब्राइटन ४–१ ले विजयी भयो ।

यस जितसँगै ब्राइटन १७ खेलबाट २७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १५ अंक जोडेर १६औं स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड विजयी
मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० ले हराएको छ । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको युनाइटेडका लागि मार्कस रास्फोर्ड, लुके सा र क्यासेमिरोले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा लुके साले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसपछि ८६ औं मिनेटमा रास्फोर्डले गोल गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए । यस जितसँगै युनाइटेडको १७ खेलबाट ३५ अंक पुगेको छ ।