१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७९, शुक्रबार ०५:२५

लन्डन । चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ ।

चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडबाट यस सिजनका बाँकी खेलका लागि लोनमा चेल्सी आएका थिए ।

५८औं मिनेटमा केन्नी टिटेमाथि खराब फाउल गरेको पछि रेफ्रीले फेलिक्सलाई रातो कार्ड देखाएका थिए । २५औं मिनेटमा विलियानको गोलमा फुलहमले अग्रता लिएको थियो । ४७औं मिनेटमा खालिडोउ कोलिबेलीले चेल्सीलाई खेलमा फर्काएका थिए । ७३औं मिनेटमा कार्लोस भिनिसियसले फुलहमका लागि दोस्रो गोल गरेका थिए ।

बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा
रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ । अब, बार्सिलोनाले रियल मड्रिडसँगको जनवरी १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । किंग्स फहाद अन्तर्राष्ट्रिय स्टेडियममा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा भएको थियो ।

४०औं मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा फिकिरको गोलमा बेटिस खेलमा फर्किएको थियो । ९३औं मिनेटमा अंशु फातीले गरेको गोलमा बार्सिलोनाले पुनः अग्रता लिएको थियो । एक सय एक मिनेटमा मोरोनले बेटिसलाई खेलमा फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा बार्सिलोनाका फाती, लेवान्डोवस्की, फ्रयांक केइसी र पेड्रीले गोल गरे भने बेटिसका जस र मोरोनले मात्र गोल गरे । योआन्मी र कार्भाहालोले प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगेनले रोकेका थिए ।