१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एभर्टनसँग आर्सनल पराजित

नेपालब्रिटेन संवाददाता
२२ माघ २०७९, आईतवार ०५:२३

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १–० ले पराजित भएको हो । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जेम्स टार्कोस्कीले निर्णायक गोल गरे ।

जितसँगै एभर्टनको ११ खेल लामो जितविहिन यात्रा टुंगिएको छ । फ्राङक लाम्पार्डलाई हटाएर सिन डाइचलाई नयाँ प्रशिक्षक बनाएलगत्तै एभर्टन पहिलो खेलमै विजयी भएको हो ।

जितसँगै एभर्टन २१ खेलबाट १८ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ । पराजित आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्ष स्थानमै रहेको छ ।

लिभरपुलको लज्जास्पद हार
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्ससँग ३–० को हार व्यहोरेको हो । खेलमा वुल्भरह्याम्प्टनलाई विजयी गराउन क्रेग डसन र रुबेन नेभेसले एक एक गोल गर्दा लिभरपुलकै जोएल माटिपले एक आत्माघाति गोल गरेका थिए ।

खेलको पाँचौं मिनेटमा लिभरपुलका माटिपले आत्मघाती गोल गरेपछि वुल्भरह्याम्प्टनले अग्रता बनाएको थियो । १२ औं मिनेटमा डसनले गोल गर्दै वुल्भरह्याम्प्टनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा नेभेसले गोल गर्दै वुल्भरह्याम्प्टनलाई ३–० को जित दिलाए ।

जितसँगै वुल्भरह्याम्प्टन २१ खेलबाट २० अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २९ अंक जोडेर १० औं स्थानमा यथावत् छ ।

प्रिमियर लिगका अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ ले पराजित गरेको छ । यसैगरी, ब्रेन्टफोर्डले साउथह्याम्प्टनलाई ३–० ले पराजित गर्दा ब्राइटनले बर्नमाउथलाई १–० ले हरायो । वेष्ट ह्याम युनाइटेड र न्युकासल युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् ।