१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सर्वोच्चको फैसलाले एनआरएनको अधिकारमा कुनै कटौती भएको छैन: गगन थापा

नेपालब्रिटेन डट कम्
२९ माघ २०७९, आईतवार १९:०६

लण्डन । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले रवि लामिछाने प्रकरणमा सर्वोच्च अदालतको फैसलाले गैर आवासीय नेपालीको अधिकारमा कुनै कटौती नगरेको जनाएका छन्। एनआरएनए एनसीसी अमेरिका तथा एनआरएनए एनसीसी क्यानाडाद्वारा आइतबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै सांसद थापाले वंशजको आधारमा रहेका नेपाली नागरिकले विदेशी नागरिकता लिए पनि दोहोरो नागरिकता राख्न पाउने संवैधानिक व्यवस्था रहेको बताए।

संसदले दुइ, दुइ पटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएकाले समस्या कायमै रहेको उनले बताए। अब संसद्को चालु सत्रबाटै नागरिकता विधेयक अगाडी बढाउने र अहिले उब्जिएका आशंकाहरु पनि सम्बोधन गर्ने गरी हामी अगाडी बढ्छौं,’ उनले भने। ‘तपाईंसंग वंशजको नागरिकता छ भने नेपालको संविधान अनुसार गैर आवासीय नेपाली नागरिकता पनि राख्न पाउनु हुन्छ । तपाईंले विदेशी नागरिकता त्यागेको हकमा वंशजको नागरिकताको निरन्तरता हुनेछ । अलमलमा रहनु पर्दैन। अब हामी थप प्रष्ट बनाउँ छौं। वंशजकै नागरिकको हकमा अरु स्पष्ट पार्ने छौं,’ थापाले भने ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरिले विदेशी नागरिकता लिए पनि नेपाल मा रहेको पैत्रिक सम्पत्तिमा अरु कसैको हक नलाग्ने, त्यो सुरक्षित रहने बताए। ‘तपाईंले राजस्व तिरेर खरीद गरेको सम्पत्ति वैध नै हुन्छ, । त्यस्तो सम्पत्ति राज्यले खोस्ने कुरा आउंदैन,’ उनले भने। उनले एसोसिएसनले गत साता मात्रै एनआरएनए युकेसंग समझदारी गरेको र एसोसिएसनले एनआरएनहरुको सम्पत्ति सम्बन्धी प्रारम्भिक कानूनी परामर्श उपलब्ध गराउने बताए।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संविधान आएको सात वर्षसम्म पनि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो। गैर आवासीय नेपालीहरुको सम्पत्ति सुरक्षाको बारेमा संविधानले नै व्यवस्था गरेको हुनाले आत्ती हाल्ने अवस्था नरहेको उनले बताए ।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले रवि लामिछाने प्रकरणले संसारभरिका एनआरएनहरु त्रसित भएको बताए। उनले संविधान अनुसार एनआरएन नागरिकता प्रदान गर्न पहल गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह पनि गरे। गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले नेपाली नागरिकता ऐनको दफा १० ले एनआरएनहरुप्रति भेदभाव गरेको बताइन । उनले गैर आवासीय नेपाली नागरिकता जति सक्दो चाडो प्रदान गर्न माग गरिन्।

संघका उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनसंग सम्बन्धित दर्जनौं ऐन, कानूनहरुमा संशोधन गर्नु पर्ने आवश्यकता रहेको बताए । त्यस्तै संघका महासचिव डा केशब पौडेलले अहिले एकदमै अन्यौलको वातावरण रहेको बताए। ‘विदेशको नागरिकता लिंदैमा नेपालको माया कम भएको हैन। एक फेरीको नेपाली सधैंको नेपालीको मर्म अनुसार काम गर्नु पर्ने अवस्था छ,’ उनले भने।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा आयोजित अन्तरक्रियाको संचालन एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतमले गरेका थिए।