७ बैशाख २०८१, शुक्रबार
Follow Us

नामिबियाविरुद्ध नेपालको जीत

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०७९, शनिबार १२:५५

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जीत निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जीत निकालेको हो । घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जीत हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा कुशल मल्ल,आसिफ शेख तथा पुर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका थिए ।

आसिफको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो । ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् । ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।

कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो । ९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरे । नेपालको लागि पुर्व कप्तान मल्ल तथा ओपनर शेखबीचमा नेपालको एकदिवसीय अन्तराष्ट्रियको नै सबैभन्दा ठूलो साझेदारी गरेका छन् ।

उनीहरुका बीचमा दोस्रो विकेटका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी भएको हो । यस अघि गत मंगलबार नै नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेल र रोहित कुमार पौडेलकाबीचमा तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी भएको थियो । कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र बेर्नाड स्कोट्जले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकीं या फ्रान्सले ४९ रन बनाए ।लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।

नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए ।

मंगलबार भएको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो । नेपाल सिरिजमा नेपालले तेस्रो जित हात पार्दा नामिबिया पनि तेस्रो खेलमा नै पराजित भएको हो । नेपालले अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।