१६ चैत्र २०८०, शुक्रबार
Follow Us

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७९, सोमबार ०८:४३

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १२ मार्च २०२३ मा विशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, वरिष्ठ पत्रकार बबिता बस्नेत, पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङ र शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङको उपस्थिति रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा राना मगरले शहरी क्षेत्रका केही महिलाहरु मुलधारमा रहेपनि,उनीहरुको जीवनमा केही परिवर्तन भएपनि ग्रामिण र विकट स्थानमा महिलाको अवस्था दयनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाहरु प्रविधिको पहुँचमा त परको कुरा आधारभूत शिक्षा स्वास्थ्यसम्म पनि पाएका छैनन् ।

शहरका महिला शिक्षित भएपनि अधिकारका कुरा गरेपनि गाउँगाउँमा महिलाको अवस्थामा कुनै परिवर्तन छैन ।” नीति निर्माणको तहमा छलफल गरेर जातिय, भूगोल र समग्र रुपमा महिलाको विकास गर्नेमा आफूले पैरवी गरिरहेको उहाँको भनाई थियो । महिलाहरु संख्यामा केन्द्रीत नभई गुणस्तर र क्षमतामा केन्द्रीत हुन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य माननीय, लिलि थापाले महिलाको लागि बनेका कानून मध्ये ५० प्रतिशत भन्दा बढीको अझै कार्यान्वयन हुन नसकेको बताउनुभयो । पछिल्लो एक दशकको अवधिमा महिला हिंसा उल्लेख्य रुपमा बढीरहेको भन्दै त्यसलाई न्यूनीकरणका लागि सरकारी पहल मात्रै पर्याप्त नभएकोले घर, समाज र व्यक्ति सचेत र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागि वरिष्ठ पत्रकार बबिता बस्नेतले महिलाका लागि सञ्चार क्षेत्र उदार रहेपनि कतिपय सञ्चारकर्मी महिला नै हिंसामा पर्ने गरेको बताउनुभयो । पछिल्लो समय डिजिटल माध्यमबाट हिंसा बढीरहेको र महिलाहरु पनि त्यसको शिकार भइरहेको भन्दै महिलालाई सम्पूर्ण रुपमा शिक्षित डिजिटल संसारसँग परिचित गराउन आवश्यक रहेको उहाँको भनाई थियो । नीति नियम र कानून भएपनि कार्यान्वयन फितलो हुँदा समस्या बढीरहेको तर्फ उहाँले सचेत गराउनुभयो ।

पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले महिलालाई यौनिकतासँग जोडेर कुरा गर्ने प्रवृत्ति अहिलेपनि हाबी रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका महिलाको पुर्नएकीकरणको लागि जत्ति नै कुरा भएपनि त्यसको परिभाषा नै प्रष्ट नभएकोले त्यसलाई पुनः परिभाषित गर्नु जरुरी रहेको उहाँको भनाई थियो । विदेशमा जानेवित्तिकै महिलाको चरित्रहत्यासम्म हुने गरेको दुखद् पक्षलाई उजागर गर्दै उहाँले महिलाको लागि सम्मानजनक वातावरण र नीति नियमको तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । महिलालाई आर्थिक, सामाजिक रुपमा सक्षम बनाई मानसिक रुपमा पनि परिपक्क बनाउनुपर्ने, विदेशमा जानुपूर्व अभिमुखीकरण तालिम दिनुपर्ने, र स्वदेश फर्किएकालाई पनि मनोपरामर्श प्रदान गर्नुपर्ने लगायतमा उहाँले जोड दिनुभयो ।

शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले महिलालाई हिंसा वा बेचविखनमा पर्नुबाट जोगाउन सचेतनामुलक कार्यक्रमको आवश्यकता औँल्याउनुभयो । कुनै महिलामा समस्यामा पर्नु उसको दोष नभएपनि समाजले महिलालाई नै दोषी करार गर्ने गरेको भन्दै त्यस्तो अवस्था अन्त्यका लागि सरकार, सरोकारवाला र व्यक्ति विशेषबाट पनि पहल हुनु जरुरी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा एनआरएनएकी कार्यकारी अध्यक्ष रबिना थापाले मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरण आवश्यक रहेको बताउनुभयो । स्वदेशमा मात्रै नभई विदेशमा रहेका महिलाले भोगेका समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । ग्रामिण क्षेत्रमा रहेका महिला हकअधिकार र शिक्षा स्वास्थ्य लगायतका विषयलाई सुनिश्चित गर्नुपर्ने उहाँको भनाई थियो । एनआरएनले सुरु गरेको छात्रा शौचालय अभियान कार्यान्वयन भएको भन्दै थापाले छोरी बचाउ र छोरी पढाऊ अभियान छिट्टै सुरु गर्नेे बताउनुभयो ।

महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा छन् तर ती अझै पर्याप्त नभएको उहाँको भनाई थियो । महिलालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र विदेशमै कामका गर्न चाहनेका लागि सम्मानजनक रोजगारीको लागि पहलकदमी लिनु जरुरी रहेको थापाले बताउनुभयो । आार्थिक अवस्थामा मजबुत नभएकै कारण महिलाहरु हिंसामा पर्ने गरेको भन्र्दै महिलालाई आर्थिक रुपमा सक्षम, सबल र आत्मनिर्भर बनाउन सरकार र लगायतका सरोकारवालाको भूमिका अहम रहेको र महिला सशक्तीकरण, सहभागिता र समानताको विषय महिला सरोकार मात्रै नभई महिला र पुरुष दुवैको समान र सक्रिय भूमिकाबाटै महिला अधिकार सुनिश्चित हुने उहाँको भनाई थियो ।

संघका अध्यक्ष बद्री केसीले जबसम्म महिलालाई शैक्षिक र आर्थिक रुपमा सबल बनाउन सकिँदैन तबसम्म महिला र पुरुषबीच समानता वा समता कायम गर्न नसकिने बताउनुभयो । संसारभरि नै यो किसिमको असमानता भएपनि अझ अविकसित र अल्पविकसित देशमा यस्तो अवस्था बढी हुने उहाँको भनाई थियो । एनआरएनएले महिला समानता र समताका लागि पहल गर्दै आएको महिला हक अधिकारका लागि संघ सदैव उदार रहेको उहाँको भनाई थियो ।

संघकी महिला उपाध्यक्ष विष्णुमाया परियारले अन्तर्राष्ट्रिय महिला दिवस नै महिलाहरुको लागि उत्सव भएकोले सबै मिलेर उत्सव मनाउन पाउँदा खुशी लागेको बताउनुभयो । प्रविधि र शिक्षा महिलाको विकासको निर्विकल्प कडी भएकोले शिक्षा, स्वास्थ्य लगायत आर्थिक रुपमा पनि महिलालाई सबल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा तृष्णा शर्मा काफ्ले (क्षेत्रीय महिला संयोजक, एनआरएनए अमेरिकाज), शान्ता अधिकारी, (क्षेत्रीय महिला संयोजक, एनआरएनए एसिया प्यासिफिक), भवानी तिवारी, (अध्यक्ष एनआरएनए अष्ट्रिया),शुभ यल्मर लामा, (अध्यक्ष एनसीसी,स्वीट्जरल्याण्ड),सुजाता केसी (क्षेत्रीय महिला संयोजक, एनआरएनए साउथ कोरिया),कविता गुरुङ, (क्षेत्रीय महिला संयोजक, एनआरएनए हङकङ), पुण्यवति सुवेदी (महिला संयोजक एनसीसी चीन),प्रतिभा कार्की (महिला संयोजक एनसीसी अष्ट्रिया),बिमला सापकोटा, (आइसीसी महिला संयोजक),विन्दु सुनुवार राई, (महिला संयोजक एनसीसी मकाउ), बाबा राजेश्वरी थापा, (आइसीसी मिडिया को —चियर), अमृता थापा, कञ्चन, (एनसीसी चीन, सहकोषाध्यक्ष), रिता गुरुङ, (हङकङ नेपाल महासंघ अध्यक्ष),यमुना, भट्टराई (आइसीसी महिला सह कोषाध्यक्ष), विन्दु निरौला, (आइसीसी सदस्य),सरिता भण्डारी (आइसीसी सदस्य),रत्ना गौतम (महिला संयोजक वेष्ट्रन अष्ट्रेलिया) र डा, अलिनी पोखरेल (आइसीसी महिला सचिव) ले महिला हक अधिकार र उनीहरुले भोग्नुपरेका समस्या, तिनको न्यूनिकरण र आगामी रणनीतिबारे अन्तरक्रिया गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए सचिव टिका गुरुगंले सबैलाई मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । आइसीसी महिला संयोजक संगिता मरहट्ठाले सञ्चालन गरेको कार्यक्रममा महिला उपाध्याक्ष यस्मिन बेगम सैयदले सभापतित्व गर्नुभएको थियो । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा एक सय भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।