लण्डन । नेपालका सडक तथा असाय बालबालिकाको सहयोगार्थ हङकङमा महिलाहरुले एकै दिनमा ६० लाख रुपैयाँ संकलन गरेका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समिति हङकङका महिला विभाग र नेपाली महिला संघ संयूक्तको आयोजनामा आइतवार सम्पन्न ११३ औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रममा सो रकमको प्रतिबद्धता आएको हो । गैरआवासीय नेपाली संघकी सचिव तथा महिला संघ हङकङकी अध्यक्ष टिका गुरुङका अनुसार ३० जना बालबालिकाको शिक्षादीक्षाका लागि तीन वर्षको लागि दुई लाखका दरले ३० जानले सो सहयोगको घोषणा गरेका हुन् ।
संकलित सहयोग गैरआवासीय नेपाली संघको महिला विभागद्वारा संचालन गर्न लागिएको सडक बालबालिका तथा असायहरुको लागि खर्च गरिने छ ।
एनआरएनए हङकङको महिला विभाग प्रमुख कविता गुरुङको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुखअतिथिको रुपमा उपसभामुख इन्दिरा रानामगर उपस्थित थिइन् ।
कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, हङकङको लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर लगायत संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति थियो ।
एनआरएनए हङकङकी उपाध्यक्ष तथा नेपाली महिला संघकी महासचिव अनु राईले संचालन गरेको कार्यक्रममा नारी दिवसको अवसरमा केही महिलाहरु समेत सम्मानित भए ।