पोखरा । महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ। पोखरा महानगरपालिकाकामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको संघका अध्यक्षद्वय बद्री केसी तथा रबिना थापा र महानगरका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा शिलान्यास गरे।
महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुन लागेको हो।
संघकी अध्यक्ष रबिना थापाको संयोजकत्वमा बन्न लागेको शौचालय र चमेना निर्माण पोखरा महानगरपालिकाको स्वामित्वमा बन्नेछ । उक्त परियोजनाको अनुमानित लागत करीब १ करोड रहेको छ ।
यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ। करिब एक करोडको लागतमा निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेनागृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ।
पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन्।vमेयर आचार्यका अनुसार शौचालय पोखराका लागि नमूना हुनेछ।
‘चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ,’उनले भने,‘ शौचालयसुविधा सम्पन्न होटेलको जस्तै हुन्छ ।’
उनका अनुसार शौचालयबाट निक्लने ग्यास चमेनागृहले प्रयोग गर्नेछ। चमेनागृह विशुद्ध नेपालीपनको हुने उनले बताए। चमेनागृह आसपासमा केही चौतारीहरू निर्माण गरिने छ भने अधिकांश ठाउँ खुल्ला रहने छ। शौचालयको आगामी २०८० को जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने उनले घोषणा गरे।
एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालयले पोखरा आउने पर्यटकहरूलाई सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गरिन्।
पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले चुनावताका जनताका सामु आफूहरूले गरेका प्रतिवद्धताहरु पूरा गर्ने अभियान सुरु भएको बताए।
एनआरएनएका कार्यकारी अध्यक्ष बद्री बहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण सुरु भएको बताए।
महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्ने भएको छ। त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ
त्यहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको झन्डा समेत राखिनेछन्। पार्कको बीच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ।