१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अष्ट्रेलियाको चुनाव जुलाई २९ तारिख, एमआईएस सिष्टममा जाने निर्णय

नेपालब्रिटेन डट कम्
९ बैशाख २०८०, शनिबार ०२:१३

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी २३र२५ कार्यकालको लागि हुने निर्वाचन जुलाई २९ तारिख शनिबार गर्ने निर्णय भएको छ । अष्ट्रेलियामा गैरनाफामूलक संस्थाका रुपमा दर्ता गरिएको एनआरएनले यस निर्वाचनका लागि प्रमुख आयुक्तमा पूर्वअध्यक्ष टोनु घोतानेलाई अघि सार्ने भएको छ । यस विषयमा बोर्ड बैठकबाट निर्णय भई टुंगो लागिसकेको छ ।

टोनु घोताने कानून व्यवसायी हुन् भने उनी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विभिन्न पदमा कार्यरत भई अध्यक्षबाट बिदा भएपछि एनआरएन अष्ट्रेलियाको पोलिसि ईन्ष्टिच्युटमा अध्यक्षता गर्दछन् ।

यसअघिकै बैठकबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले लागू गरेको एमआईएस सिष्टममा जाने निर्णय समेत संस्थाले गरिसकेको छ । जस अन्तर्गत अष्ट्रेलियामा रहेका सदस्यहरुको विवरण एनआरएन आईसीसीको केन्द्रीय सिष्टममा पठाउनुपर्नेछ । यसअघि एमआईएस सिष्टम लागू गर्ने विषयमा विवाद हुँदै आएको थियो ।

आगामी कार्यकालको नेतृत्व चयनका लागि निर्वाचन पनि अनलाईन माध्यमबाट नै हुने भएको छ । यसअघि भेरो भोटिंगमार्फत एनआरएन अष्ट्रेलियाका करिब १५ हजार सदस्यहरुले मतदान गरेका थिए ।

एनआरएन अष्ट्रेलियाले गैरनाफामूलक संस्थाका रुपमा अष्ट्रेलियन सरकारका विभिन्न निकायहरुबाट आर्थिक सहयोग प्राप्त गर्दै आएको छ । यस कार्यकालमा एनआरएन अष्ट्रेलियाले यहाँका सबै ८ वटा राज्य र टेरेटोरीहरुमा नेपाल फेष्टिभल सम्पन्न गरेको छ ।