२४ बैशाख २०८१, सोमबार
Follow Us

बेलायत- नेपाल मैत्री सन्धिको एक शताब्दी : लन्डनमा विशेष समारोहको आयोजना

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०८०, बुधबार २०:२४

लन्डन । नेपाल र बेलायतबीच मैत्री सन्धि भएको यस वर्ष एक शताब्दी प्रवेश गरेको छ । सन् १९२३, २१ डिसेम्बरमा यी दुई मुलुकबीच उक्त सन्धि भएको हो । नेपालले बेलायतसंग कूटनीतिक सम्बन्ध स्थापना गरेको चाहिं सन् १८१६ मा थियो ।

दुवै देशले एक अर्काको आन्तरिक र बाह्य स्वतन्त्रताको सम्मान गर्नेछन् भन्ने मैत्री सन्धिको आर्टिकल ८ मा उल्लेख छ । राष्ट्रसंघमा सदस्यताका लागि आवेदन दिंदा पनि नेपालले सार्वभौम स्वतन्त्र राष्ट्र भनेर यस सन्धिलाई प्रमाणका रुपमा प्रस्तुत गरेको परराष्ट्रविदहरु स्मरण गर्छन् ।

‘यो बेलायत र नेपालबीच भएको पहिलो सन्धि हो जसले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको औपचारिक रुपमा मान्यता दिएको थियो’, बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले भने, ‘ब्रिटिश साम्राज्यको जल्दोबल्दो समयमा पनि नेपाल जस्तो सानो राष्ट्रलाई सार्वभौम मान्यता दिनु नेपालका लागि उल्लेखनीय ऐतिहासिक घट्ना हो ।’

सुवेदीको बुझाइमा सन् १८१६ को सुगौली सन्धि युद्ध अन्त्य गर्ने सन्धि थियो तर मैत्री सन्धिले दौत्य सम्बन्धको आधार निर्माण गर्‍यो जुन दुई देशबीचको सम्बन्धमा कोशढुंगा मान्न सकिन्छ ।

यही मैत्री सन्धिको एक शताब्दी पुगेको अवसरमा संयुक्त अधिराज्यको राजधानी लन्डनमा मंगलबार एक विशेष कार्यक्रम भएको छ ।

बेलायती विदेश मन्त्रालय र लन्डनस्थित नेपाली दूतावासले ब्रिटिश लाइब्रेरीको सहयोगमा कार्यक्रम गरेका हुन् जसमा बेलायती र नेपाली सहभागी थिए । सेन्ट्रल लन्डनस्थित ब्रिटिश लाइब्रेरीमा आयोजित समारोहमा बेलायत र नेपालका अधिकारीहरुले दुईदेशबीचको प्रगाढ सम्बन्ध र सन्धिबारे चर्चा गरे ।

कार्यक्रममा बेलायतको विदेश मन्त्रालय (एफसीडीओ) अन्तर्गत इन्डो प्यासिफिक हेर्ने राज्यमन्त्री एन मेरी ट्रेभल्यानले भनिन्, ‘हामी नेपाल तथा ब्रिटेनबीच मैत्री सन्धि भएको १०० वर्ष पुरा भएकोमा यो वर्ष विभिन्न कार्यक्रम गर्दैछौं । हाम्रा दुई देशबीचको सम्बन्धमा यो एउटा कोशे ढुंगा हो ।’

गत मार्चमा नेपाल भ्रमण गर्ने मौका पाएको उल्लेख गर्दै उनले प्रशंसा गरिन्, ‘नेपाल सांच्चिकै एउटा विविधतायुक्त मुलुक हो। मैले हेलिकोप्टरबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्ने अवसर पनि पाएँ। गएको २०० वर्ष दखि गोर्खा सैनिकहरु हाम्रो अद्वितीय सम्बन्धको राजदूतको रुपमा रहेका छन्। मैले भूतपूर्व गोर्खा भेट्रानहरुलाई पनि भेटें र न्यानो आतिथ्य पाएँ ।’

कोभिड महामारीपछि पनि बेलायतले नेपालसंग निकट सहकार्य गर्दै आएको मन्त्री एन मेरीले बताइन् ।

‘हाम्रो इन्डो प्यासिफिक क्षेत्रीय सम्बन्धमा नेपालको महत्वपूर्ण स्थान छ । शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ’, उनले अगाडि भनिन्, ‘नेपालले अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्ने महत्वाकांक्षा राखेको छ। हाम्रा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्धन गर्ने विषय हामी दुवैको प्राथमिकतामा छ ।’

उक्त कार्यक्रममा नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालले १९२३ को नेपाल–ब्रिटेन मैत्री सन्धिको प्रस्तावना उद्धृत गर्दै उक्त सन्धिले (गएको एक शताब्दी भन्दाबढी समयदेखि) दुवै मुलुकबीच विद्यमान सम्बन्धलाई अरु सुदृढ गर्न नयां सन्धि गर्न लागिएको उल्लेख गरेको स्मरण गरे।

‘हाम्रो मित्रता अविच्छिन्न र विभिन्न क्षेत्रमा फैलिएको प्रस्तावनामा भनिएको छ । उक्त सन्धिको दफा १ ले नेपालको आन्तरिक र वाह्य सार्वभौमसत्तालाई स्वीकारेकाले त्यसको आधारमा नेपालले आफ्नो विदेश सम्बन्ध विस्तार गर्दै लग्यो र सन्धिको दफा ६ ले भूपरिवेष्ठित राष्ट्र नेपालको पारवहन अधिकारलाई स्वीकार गरेको छ’, सचिव पौड्यालले स्मरण गरे ।

उनले बेलायत नेपालको एक प्रमुख विकास साझेदार रहेको भन्दै नेपालले ब्रिटेनसंगको मित्रतालाई निकै महत्व दिंदै आएको पनि बताए । गोर्खाहरुको वफादारी र वीरताको चर्चा गर्दै सचिव पौड्यालले गोर्खाहरु दुई देशका जनताबीच सम्बन्धको जगको रुपमा रहेको पनि बताए।

पौड्यालले राजा चार्ल्स द्वितीय युवराज हुँदा पटकपटक नेपाल भ्रमण गरेको र उनले पद यात्रा गरेको मार्गलाई अहिले ‘द रोयल रुट’ नामकरण गरिएको पनि बताए।


कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र ब्रिटिश लाइब्रेरीको हेड अफ कलेक्सन्स् डा. जर्सिक्स मज्दाले पनि दुई देशबीचको सम्बन्ध र विभिन्न आयामबारे चर्चा गरेका थिए ।

कार्यक्रममा उद्योग तथा वाणिज्य सचिव मधु मरासिनी, रक्षा सहसचिव आलोक श्रेष्ठ, मेजर जनरल सितध्वज खड्का, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट लगायतको सहभागिता थियो ।

सो अवसरमा सहभागीले ब्रिटिश लाइब्रेरीमा संकलित नेपाली ऐतिहासिक ग्रन्थ तथा पान्डुलिपीहरुको प्रदर्शनी पनि अवलोकन गरे ।