२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपाल – बेलायत मैत्री सन्धिबारे लण्डनमा चर्चा

नेपालब्रिटेन संवाददाता
१ असार २०८०, शुक्रबार ०७:३९

लण्डन । नेपाल – बेलायतबीच मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पुरा भएको अवसरमा लण्डनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल र संयु्क्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा गत वुधवार नेपाली राजदूतावास र लण्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सो सन्धिको बारेमा चर्चा गरे ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वबारेमा जानकारी दिए ।

उनले नेपाल बेलायत सम्बन्ध आधुनिक युगमा प्रवेश गरेको एवं दुवै देशले राजदूत आदानप्रदान गर्न शुरुवातसमेत गरेको उल्लेख गर्दै नेपाल र बेलायतबीचको सम्बन्धका बिभिन्न आयामहरुका बारेमा प्रकाश पारे । उनले परिवर्तित समयमा नेपाल बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा लण्डन स्कूल अफ इकोनोमिक्सको दक्षिण एशिया केन्द्रका निर्देशक प्राध्यापक अलनुर भिमानीले केन्द्रका गतिविधि एवं नेपालसँग सम्भावित सहकार्यका विषयमा आफ्नो धारणा राखेका थिए ।

लिड्स विश्वविद्यालयका प्राध्यापक सुर्यप्रसाद सुवेदीले सन १९२३ मा नेपाल र बेलायतबीच भएको सन्धिको महत्वमाथि प्रकाश पार्दै त्यसअघि विभिन्न समयमा सन्धि सम्झौताहरु भएका भएतापनि नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा थप सुदृढीकरण गर्न सहयोग पुगेको बताए ।

उक्त सन्धि लिग अफ नेशन्समा समेत दर्ता भएको र यसबाट नेपालको अन्य मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्न सहयोग पुगेको समेत उनको भनाई थियो ।
कार्यक्रममा नर्थअम्ब्रिया विश्वविद्यालयकी डा केटी ओभनले नेपाल र बेलायतबीच भैरहेका विपद व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी विभिन्न आयोजनाबारे चर्चा गर्दै प्राकृतिक प्रकोपका समयमा बेलायतले गरेको सहयोग र अनुसन्धानका बारेमा चर्चा गरिन् ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरले नेपालमा विगतदेखि हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उपस्थित प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु, नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु तथा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच अन्तरक्रिया भएको लण्डनस्थित नेपाली दुतावासले जनाएको छ ।