१९ असार २०८१, मंगलवार
Follow Us

एनआरएनएको उपाध्यक्षमा डा केशव पौडेलको उम्मेदवारी घोषणा

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८०, शुक्रबार १२:४०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका वर्तमान महासचिव पौडेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले अध्यक्षमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले महासचिवमा उम्मेदवारी दिएको बताए । उनले सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैलाने दायित्व रहेको भन्दै त्यसका लागि अध्यक्षको उम्मेदवारबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको दुई कार्यकाल अध्यक्ष तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको बताए ।

दशौँ महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्मेवारी सबैसामु रहेको उल्लेख गर्दै पौडेलले दसौं विश्वसम्मेलनमा सबै अभियन्ताले महासचिवको रुपमा गरेको विश्वासप्रति सम्मान व्यक्त गर्दै आउँदो ११ औं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गरेको बताए ।

‘हुनतः यस पटक नै मैले संघको नेतृत्वको निम्ति तयारी पनि गरेको थिएँ, तर यो संस्थामात्र नभई अभियान भएकाले सहमतिको बिन्दुबाट पनि सोच्नुपर्ने हुन्छ’, उनले भने, ‘संघको विभिन्न पदमा रही काम गरिसक्नुभएका अनुभवी र म जस्तै नेतृत्व गर्ने अर्को एनआरएनए अभियन्ताले सँगै अभियानलाई अगाडि बढाउं भनिरहँदा त्यसलाई सहज रुपमा लिदैं म अभियानमा आफू उपाध्यक्ष पदमा रुपमा रही अघि बढ्ने निष्कर्ष सहित अगाडि आएको यहाँहरुमा अनुरोध गर्न चाहन्छु । ’

पौडेलले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन् । जसमा निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यन्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन् । आफूलाई उपाध्यक्षको रुपमा उभ्याईरहँदा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन् ।

पहिलो मुद्दा नेपाली नागरिकताको निरन्तरता नै हुने उनले बताए । ‘अहिले संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन सँगै ूएक पटकको नेपाली सधैंको नेपालीू भन्ने हाम्रो मूल उद्देश्य अनुरुप नेपाली नागरिकताको निरन्तरताको विषयलाई टुंगोमा पुर्‍याउन मेरो भूमिका रहनेछ’, उनले भने, ‘खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोप लगायतका देशमा रहनुहुने त्यहाँको नागरिकता लिनुभएका गैरआवासीय नेपालीले नेपालमा रहेको सम्पत्तिलाई लिएर धेरै असजिलो अवस्था व्यहोर्नु परिरहेको छ । नेपाल भित्र केही गर्नु पर्दा पनि विदेशी दर्जामा गर्नुपरिरहेको छ, यी बाहेक पनि मुख्य कुरा आफूलाई एक प्रकारको विभेद जस्तो व्यहोर्नु परिरहेको छ, तसर्थ त्यसलाई टुंगोमा पुर्‍याउन नेपाली नागरिकताको निरन्तरता नै आवश्यक छ ।’

दोस्रो मुद्दा एनआरएनएलाई नै संस्थागत बनाउनु भएको उनको भनाइ छ । एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्चमा पनि कटौती गर्न सकिने भएकाले त्यसतर्फ पनि आफ्नो ध्यान रहने उनले बताए । विश्वभर रहेको अनुभव, ज्ञान, पुँजी र सामर्थ्यलाई संस्थागत ढंगवाट नेपालका नेपाली र गैर आवासीय नेपालीका बीच पनि उपलब्धिमूलक ढंगवाट पुर्‍याउन आफूले काम गर्ने पौडेलले बताए।

यस्तै तेस्रो मुद्दा गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम भएको उनले बताए । ‘देश अनुसार एनआरएनहरुका आवश्यकता फरक फरक छन् । त्यसलाई लिपिबद्ध गर्दै सम्बोधन गर्ने तर्फ एनआरएनएले पहल गर्नुपर्ने हुन्छ । दोहोरो कर प्रणाली, आप्रवासी कामदारको सामाजिक सुरक्षाको जिम्मेवारी, वैदेशिक श्रम बजारमा सिपयुक्त जनशक्त्ति, कूटनीतिक नियोगहरुवाट दिइने सेवामा सेवाग्राहीको सरल पहुँच र सहज समाधानको पहल, नेपालको निर्वाचनमा मत दिन योग्य गैर आवासीय नेपालीले मत दिन पाउने व्यवस्थाको कार्यान्वयन, कठिनाई रहित भन्सार सुविधा, पुँजीको सरल व्यवस्थापन, वैदेशिक श्रम बजारवाट नेपाल फर्कन चाहनेहरुका लागि आवश्यक व्यवस्थाको पहल, सुरक्षित वैदेशिक श्रम बजार जस्ता धेरै विषयहरुमा हामीले कार्य गर्नुपर्ने छ त्यस तर्फ मेरो भूमिका रहनेछ’, उनले भने ।

यसैगरी विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी आयोजना गर्न आफूले पहल गर्ने पनि पौडेलले बताए । साथै, संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिने, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा पनि आफूले संस्थागत रुपमा पहल गर्ने पौडेलको प्रतिबद्धता छ ।

आफ्नो उम्मेद्वारीप्रति विश्वभरबाट सहभागी हुने प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीबाट साथ र सद्भाव रहने उनको विश्वास छ ।

‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए, मेरो प्रतिबद्धता ‘

आदरणीय गैरआवासीय नेपाली आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरु,
सम्पूर्णमा सादर नमस्कार ।
सर्वप्रथम, हामी गैरआवासीय नेपालीलाई हक, अधिकार दिलाउने र हाम्रो गर्विलो परिचय स्थापित गराउने साझा, प्रतिनिधिमूलक, सम्मानित र गौरवपूर्ण संस्था गैरआवासीय नेपाली संघको एघारौं महाधिवेशन नजिकिएको छ, हामी सबैको सक्रिय सहभागितामा महाधिवेशन पूर्ण रुपमा सफल हुनेछ भन्नेमा म विश्वस्त छु ।
स्थापनाको केही वर्षमै गैर आवासीय नेपाली संघले एउटा उचाई लिएको छ । यो संस्थालाई यहाँसम्म ल्याई पुर्‍याउन विभिन्न तह, तप्का र ओहोदामा रहेर योगदान गर्नुहुने समस्त एनआरएन अभियन्ताहरुमा सम्मान व्यक्त गर्न चाहन्छु ।
यहाँहरु सबैको भूमिकाले आज यो संस्था दरिलो बन्दै गएको छ । यो अहिले विश्वव्यापी रुपमा फैलदैं गएको छ । महाभूकम्प होस् वा कोभिड महामारी, विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकताको मालामा उनेर एनआरएनएले गैर आवासीय नेपालीको हितका निम्ति काम गरिरहेको छ भने नेपालसँग गैर आवासीय नेपालीलाई जोड्ने पुलको काम गरिरहेको छ । यो अभियानमा म आफू पनि जोडिएर एनआरएनए अभियानमा केही योगदान गर्न सकेकोमा आनन्दको अनुभूति गरेको छु ।
गैरआवासीय नेपाली संघको स्थापनादेखिनै प्रत्यक्ष तथा परोक्ष रुपमा जोडिएर म एनआरएनए अभियानमा क्रियाशील छु । यसै क्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको दुइ कार्यकाल अध्यक्ष तथा एक कार्यकाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको प्रमुख संरक्षकको रुपमा रहेर संघको संस्थागत विकासमा काम गरें भने हाल गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को महासचिवको भूमिकामा रहेर सक्रिय रहेको छु ।
आदरणीय साथीहरु,
एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको छ। दशौँ महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्म्जेवारी पनि तपाईं, हामी माथि नै छ। विषम परिस्थितिका बिच पनि प्राप्त चुनौतीपूर्ण जिम्मेवारीलाई सहर्ष स्वीकार गरी म महासचिवको रुपमा एनआरएनए अभियानमा देखा परेका समस्यालाई चिर्न र सबै एनआरएनहरुले विश्वास गर्न सक्ने एनआरएनए बनाउन निरन्तर लागेको यहाँहरुमा जानकारी रहेकै छ । व्यक्तिगत स्वार्थभन्दा माथि सेवा भावले एनआरएनएको अभियानमा जोडिएर विश्वसंजाल निर्माण गरेको संस्थामार्फत केही गर्न सकिरहेकोमा संस्था र तपाईंहरु सबैप्रति म कृतज्ञ छु ।
यस संस्थासँग जोडिएर अघि बढ्दै जाँदाको यस अवधिमा विश्वभर छरिएर रहनुभएका एनआरएन मित्रहरुसँग सम्बन्ध स्थापित हुन सकेको छ । विश्वभर रहनुभएका एनआरएनए अभियन्ताहरुसँग प्रत्यक्ष भेटेर र विभिन्न माध्यममार्फत सम्पर्क गर्दा मिलेको उर्जाले र यहाँहरुले म प्रति देखाउनुभएको सद्भाव र अपार माया तथा तपाईहरुले प्रकट गर्नुभएको सहयोगको प्रतिवद्धताले मलाई एनआरएनए आइसिसीमा अगाडि बढ्न उत्प्रेरित गर्‍यो। गएको दसौं विश्वसम्मेलनमा तपाईहरुले महासचिवको रुपमा मलाई गर्नुभएको विश्वासप्रति पनि सम्मान व्यक्त गर्दै आउँदो ११ औं महाधिवेशनमा म उपाध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गर्न चाहन्छु ।
हुनतः यस पटक नै मैले संघको नेतृत्वको निम्ति तयारी पनि गरेको थिएँ, तर यो संस्थामात्र नभई अभियान भएकाले सहमतिको बिन्दुबाट पनि सोच्नुपर्ने हुन्छ । संघको विभिन्न पदमा रही काम गरिसक्नुभएका अनुभवी र म जस्तै नेतृत्व गर्ने अर्को एनआरएनए अभियन्ताले सँगै अभियानलाई अगाडि बढाउं भनिरहँदा त्यसलाई सहज रुपमा लिदैं म अभियानमा आफू उपाध्यक्ष पदमा रुपमा रही अघि बढ्ने निष्कर्ष सहित अगाडि आएको यहाँहरुमा अनुरोध गर्न चाहन्छु । संस्थामा सबैको अपनत्व तथा अनुभूति होस् भन्ने चाहना राख्दै मैले यस अघि पनि नवौं अन्तरराष्ट्रिय सम्मेलनमा संघको महासचिवको तयारी गरिरहँदा नेतृत्व तहमा महिलाको सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्दै महिला एनआरएनए अभियन्तालाई महासचिव पदमा सहयोग गरेको बारे यहाँहरु जानकार नै हुनुहुन्छ । यसै सन्दर्भमा महासचिवको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्दै एमआईएस सिस्टम मेम्बरसिप प्रोगामको चेयरपर्सनको रुपमा प्राप्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको पनि यहाँ स्मरण गर्न चाहन्छु ।
मेरा प्रतिबद्धताहरू
उपाध्यक्ष पदको उम्मेद्वार भैरहँदा मैले यो संस्थालाई कसरी अझ बढी योगदान गर्न सक्दछु ? मैले ध्यान पुर्‍याउनु पर्ने क्षेत्रहरु के, के रहन्छन् ? त्यसतर्फ मेरो चिन्तन रहेको छ । हामी कुनै संसदीय वा अन्य सत्ता प्राप्तिको प्रतिष्पर्धात्मक चुनावमा छैनौं, यहाँ हामी सबै समान छौं, हामी सबैको साझा दायित्व भनेकै एनआरएनए संस्थालाई कसरी बलियो बनाउने भन्ने नै रहेको छ । निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यन्वयन गर्ने तर्फ मेरो ध्यान रहनेछ । एनआरएनए अभियानमा अघि बढ्दै जाँदा यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझावलाई ग्रहण गर्दै संस्थाको संस्थागत विकास र संस्थाको सुदृढिकरणमा म लागिरहने छु । मैले आफूलाई उपाध्यक्षको रुपमा उभ्याईरहँदा मुख्यतः केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
पहिलो मुद्दा भनेको नेपाली नागरिकताको निरन्तरता नै हुनेछ । अहिले संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन सँगै “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने हाम्रो मूल उद्देश्य अनुरुप नेपाली नागरिकताको निरन्तरताको विषयलाई टुंगोमा पुर्‍याउन मेरो भूमिका रहनेछ । खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोप लगायतका देशमा रहनुहुने त्यहाँको नागरिकता लिनुभएका गैरआवासीय नेपालीले नेपालमा रहेको सम्पत्तिलाई लिएर धेरै असजिलो अवस्था व्यहोर्नु परिरहेको छ । नेपाल भित्र केही गर्नु पर्दा पनि विदेशी दर्जामा गर्नुपरिरहेको छ, यी बाहेक पनि मुख्य कुरा आफूलाई एक प्रकारको विभेद जस्तो व्यहोर्नु परिरहेको छ, तसर्थ त्यसलाई टुंगोमा पुर्‍याउन नेपाली नागरिकताको निरन्तरता नै आवश्यक छ ।
दोस्रो मुद्दा भनेको एनआरएनएलाई नै संस्थागत बनाउनु हो । ठूलो संजाल भएपनि संस्थागत हुन नसक्दा सोचेको जसरी एनआरएनएले काम गर्न सकिरहेको छैन । एनआरएनए आईसिसी देखि एनसिसीहरुमा विवादहरु देखिने गरेका छन्, कतिपय अवस्था सही ढंगवाट समन्वय र सम्बोधन नहुँदा यो अवस्था आएको हुनुपर्दछ । देश अनुसार एनसीसीहरुमा समस्या पनि फरक छन्। सँगसँगै देश अनुसार एनसिसीहरुमा कानुनी आधारमा पनि कतिपय विषयहरु आईसिसीले चाहे जसरी गर्न नसकिने पनि हुन सक्दछ। यी र यस्ता विषयहरुलाई एकत्रित गर्दै संवोधन गर्नका लागि संस्थागत ढंगवाट पहल हुनु आवश्यक छ । एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्चमा पनि कटौती गर्न सकिन्छ। त्यसतर्फ पनि मेरो ध्यान रहनेछ । विश्वभर रहेको हाम्रो अनुभव, ज्ञान, पुँजी र सामर्थ्यलाई संस्थागत ढंगवाट नेपालका नेपाली र गैर आवासीय नेपालीका बीच पनि उपलब्धिमूलक ढंगवाट पुर्‍याउन मैले काम गर्ने छु ।
तेस्रो मुद्दा भनेको गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम हो । देश अनुसार एनआरएनहरुका आवश्यकता फरक फरक छन् । त्यसलाई लिपिबद्ध गर्दै सम्बोधन गर्ने तर्फ एनआरएनएले पहल गर्नुपर्ने हुन्छ । दोहोरो कर प्रणाली, आप्रवासी कामदारको सामाजिक सुरक्षाको जिम्मेवारी, वैदेशिक श्रम बजारमा सिपयुक्त जनशक्त्ति, कूटनीतिक नियोगहरुवाट दिइने सेवामा सेवाग्राहीको सरल पहुँच र सहज समाधानको पहल, नेपालको निर्वाचनमा मत दिन योग्य गैर आवासीय नेपालीले मत दिन पाउने व्यवस्थाको कार्यान्वयन, कठिनाई रहित भन्सार सुविधा, पुँजीको सरल व्यवस्थापन, वैदेशिक श्रम बजारवाट नेपाल फर्कन चाहनेहरुका लागि आवश्यक व्यवस्थाको पहल, सुरक्षित वैदेशिक श्रम बजार जस्ता धेरै विषयहरुमा हामीले कार्य गर्नुपर्ने छ त्यस तर्फ मेरो भूमिका रहनेछ । संसारभरि फैलिएका एनआरएनहरुका समस्याहरु सम्बोधन गर्न तथा एनआरएनहरुसंग रहेको सीप, पूँजी, अनुभव र संजाल नेपालको हितमा सदुपयोग गर्नका लागि एउटा छुट्टै एनआरएन मन्त्रालय गठन गर्न संघको तर्फबाट नेपाल सरकारसंग पहल गर्ने छु। यसैगरी विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी आयोजना गर्न साथै संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिन, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्न, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा पनि मैले संस्थागत रुपमा पहल गर्ने छु।
अन्तमा, मेरो उम्मेद्वारीप्रति सम्मेलनमा प्रतिनिधिको रुपमा विश्वभरबाट सहभागि हुनुहुने प्रतिनिधिज्यूहरु तथा गैरआवासीय नेपाली तपाई सम्पूर्णबाट साथ र सद्भाव रहने छ भन्नेमा म पूर्ण विश्वस्त छु । तपाईंहरुको अमूल्य मत र सहयोगको अपेक्षा मैले गरेको छु ।
साथै उपाध्यक्ष पदमा मेरो उम्मेद्वारी र मैले उठाएका विषयलाई आफ्नो महत्वपूर्ण संचारमाध्यममार्फत विश्वभर बस्नुहुने नेपालीमाझ पुर्‍याइदिनुहुन र रचनात्मक सहयोग गर्नुहुन आदरणीय पत्रकार मित्रहरुमा विशेष आग्रह गर्दछु ।

धन्यवाद ।
जय एनआरएन । जय एनआरएनए । जय नेपाल ।
डा. केशव पौडेल
उपाध्यक्ष पदका उम्मेद्वार (२०२३-२०२५)
गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्