चिरन शर्मा ।
नेपालीकालागि नेपाली भन्ने मूल नारासहित समृद्ध नेपालको परिकल्पनाको सपना बुन्दै स्थापना भएको गैरआवासीय नेपाली संघले दुई दशक पूरा गरेको छ ।
विभिन्न कारणले विश्वका कुनकुनामा पुगेका नेपालीहरुको भावनालाई नेपालको आर्थिक, सामाजिक र संस्कृति विकासमा जोड्नकालागि संघले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । नेपालमा २०४६ सालपछिको राजनीतिक परिवर्तनसँगै अवसरको खोजिमा नेपालीहरु विदेशीनेक्रम हुवात्तै बढ्यो । अहिले करिब ११० देशमा नेपालीहरु पुगेको अनुमान गरिएको छ ।
विदेशमा अहिले दोस्रो पुस्ताले आफूलाई स्थापित गर्न संर्घषरत रहेको छ । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान लगायतका विभिन्न क्षेत्रमा काम गर्न करिब ६० लाख भन्दा बढी नेपालीहरु विदेशी भूमिका सक्रिय छन् । विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई उनीहरुले नेपालको हितमा प्रयोग गर्न चाहान्छन्।
गैरआवासीय नेपाली संघको स्थापनापछि विदेशमा रहेका नेपालीहरुको भावनालाई राज्यसँग जोड्न कानूनी तथा नीतिगत आधारहरु तयार भैरहेका छन्। गैरआवासीय नेपाली संघको संजाल विश्वव्यापी रुपमा स्थापित भएको छ । यो संस्था संसारकै अद्धितिय संस्था हो । ठूलो संजाल, नयाँ पुस्ताको आगमन, राजनीतिक दलहरुको ठाडो हस्तक्षेप, संस्थागत विभाजन तथा गुटबन्दी संस्थाभित्रका चुनौतीहरु हुन्। संस्थाभित्र हुने विवाद र चर्को राजनीतिक खिचातानीले यो संस्थाको प्रवेशमा नयाँ पुस्तालाई निरुत्साहित गरेको छ ।
संस्थाको ठूलो खम्बाको रुपमा रहेका राष्ट्रिय समितिले संस्थाको उद्देश्य भन्दा फरकधारमा उभिएर गरेका गतिविधिले समेत संस्थाको धरोहर ढल्ने खतरा बढेको छ । समृद्धि नेपालको चाहनालाई पूरा गर्न संस्थाका नीति तथा कार्यक्रमहरु सो दिसातिर अगाडि बढइनु पर्छ । संस्थामा हरेक २ वर्षमा हुने निर्वाचनले उत्पन्न वितृष्णालाई कम गर्दै लैजान संस्थामा नयाँ पुस्ताको उपस्थिति र प्रविधि प्रयोग अपरिहार्य छ । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमा गत निर्वाचनमा प्रयोग भएको एमआइएस (मेम्बर इन्फरमेसन सिस्टम) र फेस भेरिफिकेशन मार्फत भएको अनलाइन भोटिङले निर्वाचन विवादरहित र कम खर्चिलो भएको पुष्टि भएको छ ।
संसारमा प्रविधिको विकासको तेज तिब्र गतिमा अघि बढिरहेको छ । प्रविधिले संसारलाई एउटै आगान जस्तै बनाई दिएको छ । संसारका ठूल्ठूला उद्योगहरुले समेत आफ्नो उत्पादन क्षेत्रलाई फराकिलो पार्दै प्रविधिमैत्री सामाग्री उत्पादन गर्न थालेका छन् । विश्वका सामाजिक संघसंस्थाले आफ्नो उद्देश्य प्राप्तिको लागि चुनौती सामना गर्दै आएकोमा अहिलेको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले कार्यक्षमतामा वृद्धि गर्नेदेखि लक्ष्य प्राप्तिमा समेत सघाउ पुराएको छ । प्रशासनीक तथा भाषागत अवरोधहरुलाई समेत यो प्रविधिले सहज र छरितो बनाइएको छ ।
भविष्यको प्रक्षेपण अर्थात भविष्यवाणी गर्ने अल्गोरिदमहरू दशकौंदेखि प्रयोग हुँदै आएका भए पनि ओपन एआई कम्पनीको च्याट जिपिटी थ्री जस्ता एप्लिकेसनहरू आउनु र माइक्रोसफ्टको बिङग सर्च इन्जिनमा त्यसको तीब्र समायोजन हुनुले प्रयोगकर्तामैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको ढोका खोलेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हाम्रो संसारको अभिन्न अंग बनिसकेको छ । एआईले कुशल र स्मार्ट प्रणालीहरू सिर्जना गर्न मद्दत गरिरहेको छ । जेनेरेटिभ एआई र प्राकृतिक भाषा प्रशोधन जस्ता नयाँ प्रविधिहरूले विश्वभर व्यापार गर्ने तरिकालाई आमूल परिवर्तन गरिदिएको छ ।
नयाँ पुस्ताले अहिले प्रयोगमा ल्याएको आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृतिम बुद्धिमताले अबको दश वर्षमा नयाँ प्रविधिले छलाङ मार्नेछ । हामीले अहिले प्रयोग गर्दै आएका टिभी, क्यामेरा, घडी, मोबाइल फोन लगायतका इलोक्ट्रोनिक्स सामग्रीहरु विस्थापित हुने क्रम सुरु हुनेछ ।
अहिले विश्वभर प्रयोगमा आएका सफ्वेयर तथा हाड्वेयर पूर्ण रुपमा अपग्रेड हुने छन् । जसरी मानव निर्मित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आफ्नो विवेक प्रयोग गरेर स्वाचालित रुपमा नतिजा निस्पक्ष रुपमा दिन्छ त्यसरी नै संघको सदस्यता वितरण र निर्वाचन प्रकृयामा समेत एआईको प्रयोग गर्न सकिन्छ ।
विदेशका विभिन्न शहरमा फैलिएका नेपालीहरुले प्रयोग गर्ने स्मार्ट फोनमार्फत् एकदिनमै संस्थाको सदस्यता बन्न सक्ने सरल बाटो अबलम्बन गरिनु पर्छ । स्वर्फुत सदस्यता लिन प्रोत्सान गर्नको लागि निर्वाचनमा हुने अबान्छित कृयाकलाप रोकिनु पर्छ ।
सदस्यता वितरण प्रकृया स्वचालित बनाउन हाल प्रयोग भएको एमआईएस प्रविधिलाई थप परिस्कृत गर्नु पर्छ । सदस्यता वितरण प्रकृयामा प्रयोग हुने कागजातहरुको भेरिफिकेशन, पेमेन्ट समेत एआई अर्थात स्वत ः प्रमाणीकरण गर्न प्रविधिको प्रयोग गरेका हाल राष्ट्रिय समितिमा सदस्यता वितरणमा हुने गरेका अनेकै विकृतिहरु हट्ने छन् । सदस्यता वितरणलाई निशुल्क गरेर विदेशमा रहेका लाखौं नेपालीलाई संस्थाको छाताभित्र ल्याउन सकिन्छ । यो प्रविधिको प्रयोगले सदस्यता सूचिको अभिलेख राख्ने, भाषा लेखन तथा अनुवादमा समेत सहयोग पुग्छ ।
प्रविधिसँगै अबको दुई दशकमा विदेशमा नेपाली लेख्न र पढ्न नसक्ने पुस्ता संस्थाको नेतृत्वमा पुग्ने छ । त्यो अवस्थामा हाल संस्थाले औंलाउँदै आएका विधि, प्रकृया र परम्पराले संस्था धन्ने अवस्थामा रहदैन् । त्यसैले अहिलेको पहिलो पुस्ताको परम्परावादी र संकृण सोच भन्दा माथि उठेर नयाँ शताब्दी र आर्टिफिसियल इन्टेलिजेन्सको समय अनुरुप संस्था रुपान्तरणको विकल्प छैन् ।
सञ्चार क्षेत्रमा पहुँच, लिखित अक्षर, भाषण, कला तथा भिडियोहरू, फोटोसप सिर्जना गर्ने आर्टिफिसियल इन्टेलिजेन्सहरू, तीव्र गतिमा विकसित भैरहेका छन्, जसले कार्यक्षमता, छिटो छरितो शासन प्रणाली, व्यापार व्यवसायदेखि आम जनताको जीवनमा समेत दीर्घकालीन प्रभाव पार्दैछ । हाम्रो नयाँ पुस्ता अहिले यो प्रणालीमा अव्यस्त हुन थालेको छ ।
नयाँ पुस्तालाई नेपाली भाषाको ज्ञान र सिपलाई बढावा दिन विश्वविख्यात कम्पनी एप्पलको रिसी र एलेक्सा जस्ता डिभाइसमा समेत नेपाली भाषा कक्षालाई प्रयोगको रुपमा ल्याउन सकिन्छ । त्यसको प्रयोगले विदेशमा जन्मेर यतै हुर्किएको पुस्ताको नेपाली भाषासम्म पहुँच पुग्ने छ । नेपाली भाषामा दखल राखेपछि उनीहरुको सम्बन्ध स्वतः नेपालसँग जोडिने छ ।
उनीहरुको पहिलो रोजाई नेपाल बन्ने छ । नेपालको पर्यटन क्षेत्रमा उनीहरुलाई जोड्नको लागि एउटै एपमार्फत सगरमाथाको चुचुरो, मुस्ताङ, लुम्बिनी, पशुपतिनाथ लगायतको मुख्य पर्यटकीय क्षेत्रको प्रत्यक्ष प्रसारण गर्न सकिनेछ । यस्तै प्रविधि स्वीजरल्याण्डले दशकैदेखि प्रयोगमा ल्याएका छ । त्यसको सहयोगले एउटा होटलको लाउन्समा बसेर स्वीट्जल्याण्डका डाँडाकाँडा तथा हिमाल देख्ने र मौसमको जानकारी लिन सकिन्छ । नेपाल भ्रमणको लागि आवश्यक सूचनाहरु तथा होलिडे प्याकेजहरु आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले स्मार्ट एनआरएनए एपमा लिंक गर्दा नयाँ पुस्तामैत्री संस्था बन्न सक्छ । प्रविधिको प्रयोगले मानिसको आज जीवन शैलिलाई सहज र स्वस्थ्य राख्न समेत मद्दत गर्छ ।
युरोप अमेरिकालगायत संयुक्त राष्ट्रसंघले समेत आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकाससँगै आफ्ना ऐन र कानूनहरुलाई समय अनुसार संशोधनको तयारी थालिसकेका छन् । त्यसैले नेपाल सरकार र गैरआवासीय नेपाली संघ जस्तो सरकारको सहयोगी संस्थाले देशमा र संस्थाभित्रै नयाँ प्रविधि भित्राएर त्यसको कार्यान्वयनकोलागि ऐन कानूनमा समेत निर्णण गरेर अघि बढ्ने बेला आएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास तथा प्रयोग विश्वव्यापी रुपमा उत्साहजनक रुपमा भैरहेको बेला गैरआवासीय नेपाली संघजस्तो सामाजिक संस्था प्रतिको आर्कषण बढाउन र यो सञ्जालमा उनीहरुलाई जोड्नको लागि संजीवनी बुटी बन्न सक्छ आर्टिफिसियल इन्टेलिजेन्स । नयाँ नेतृत्वले नयाँ पुस्तालाई संस्थामा जोड्ने र गैरआवासीय नेपालीहरुको नेतृत्वको उनीहरुकै काँधमा सुम्पिने अजेण्डा तथा नीति अवलम्बन गर्न सके मात्र संघको भविष्य उज्वल रहने छ ।
(लेखक, गैरआवासीय नेपाली संघका समाचार संयोजक तथा नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष हुन्)