१५ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसलाई सुझाव : जनसम्पर्क समिति खारेज गरौं (समाचार टिप्पणी)

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०८०, आईतवार १४:१६

लण्डन । सन् १९७६ को जुन महिनामा जननायक बिपि कोइराला मुम्बईमा थिए । उनले भारतमा नेपालीमाथि हुने अन्याय, अत्याचार, दमन, शोषण, हत्या, नारी बेचबिखन देखे । नेपालमा भारतबाट भारतका बिरुद्ध बोल्न सक्ने अवस्था थिएन् । देशमा पंचायती व्यवस्था थियो, प्रजातन्त्रादीहरु भूमिगत थिए । भारतमै बसेर कयौ नेताहरुले नेपालमा प्रजातन्त्र ल्याउन भूमिगत शैलीमा संगठन गरेका थिए । सन् १९९० को दशकपछि जस्तो त्यतिबेला अन्य देशमा नेपालीहरुलाई जान सहज थिए । वैदेशिक रोजगारको अवसर भारतमा मात्र थियो । बिपि कोइरालाले भारतमा रहेका नेपालीबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र नेपालीहरुको न्यायको पक्षमा बोल्ने उद्देश्यका साथ नेपाली जनसम्पर्क समिति भारतको पहिलो शाखा स्थापना गरेका थिए ।

बिपि कोइरालाकै निर्देशनमा भारतका अन्य शहरहरु पूर्वमा मुम्बई, पश्चिममा चण्डीगढ (पंजाब), उत्तरमा दिल्ली, म्यमा भोपाल (मध्य प्रदेश) मा र दक्षिणमा चेन्नाई (तमिलनाडु) गरी क्षेत्रीय समितिहरु गठन भए । नेपालमा प्रजातन्त्रको माग बढ्दै गए भारतमा रहेका नेपालीहरु जनसम्पर्क समितिमार्फत संगठित हुदै गए । सामाजिक एकता कायम गरे ।

आफ्नो शुभेच्छुक पार्टी नेपाली कांग्रेसको नीति निर्देशन र बिपि पथलाई अनुशरण गरे । पार्टीलाई आर्थिक सहयोगसमेत गरे । पछि नेपालमा भएका ठूल्ठूला जनआन्दोलनहरुलाई सफलता पुर्‍याउन जनसम्पर्क समिति भारतको ठूलो भूमिका थियो । पार्टी कयौं ठूला नेताहरुले जनसम्पर्क समितिकै सहयोगमा भारत निर्वासनमा थिए ।

बिक्रम संवत २०४६ सालको जनआन्दोलनले नेपाललाई नयाँ दिसामा डोहोर्‍यायो । जनआन्दोनपछि नेपाली कांग्रेस सरकारमा आयो र देशमा नयाँ आर्थिक नीति लागू भयो । सर्वसाधारणहरुको लागि विश्वका बिभिन्न देशमा पुग्ने ढोका खोलिदियो । बैदेशिक रोजगारीका लागि नयाँ अवसरहरु खुले । पहिलो चरणमा वैदेशिक रोजगारी र युरोप, अमेरिका जानेहरु तत्कालिन सत्तारुढ दल नेपाली कांग्रेसकै कार्यकर्ता रहेको विश्वास गरिन्छ ।

सन् २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएपछि त्यसको तारो सबै भन्दा धेरै नेपाली कांग्रेसका कार्यकर्ताहरु भए । गाउँगाउँबाट कांग्रेसहरु लखेटिए र उनीहरु बिदेशमा पलायन हुन पुगे । नेपाली कांग्रेसले उनीहरुलाई युरोप, अमेरिका, एशिया क्षेत्रका देशहरुमा संगठित गर्दै जनसम्पर्क समिति विस्तार गर्दै गयो । अहिले जनसम्पर्क समितिका विश्वभर करिब ३ दर्जन देशमा संजाल रहेको छ । तर ती जनसम्पर्क समिति जननायक बिपि कोइरालाले कल्पना गरेभन्दा विपरित ध्रुर्वमा परिचालित छन् ।

जहाँ–जहाँ जनसम्पर्क समितिका शाखाहरु खोलिएका छन् ती अधिकांश देशमा समाज विभाजित र एक आपसमा लडाई छ, नेपाली कांग्रेस सिंगो पार्टीको बदनाम गर्न उदृत छन् जनसम्पर्क समितिहरु । धेरै देशमा सामानान्तर समिति छन् । विधानले तोकेको ४ वर्षै कार्यकाललाई बाढेर चार चार जनाले सभापति बन्ने समेत अलोकतान्त्रीक पद्धतिलाई सहर्ष स्वीकार गरेर पद लिएका छन् । यो लोकतान्त्रिक पार्टीका लागि लज्जाको विषय मात्र हो ।

उनीहरु आफैंमा गुटउपगुटमा विभाजित त छदैछन तर बिभिन्न सामाजिक तथा परोपकारी काम गर्ने उद्देश्यले खोलिएका संस्थालाई समेत राजनीतिकरण गरेर समाजलाई विशाक्त पार्नेका काम जनसम्पर्क समितिहरुले गरेका छन् । विदेशमा रहेका ६० लाख नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघलाई विभाजन गरेर चार, पाँच चिरामा पार्ने महत्वपूर्ण भूमिका जनसम्पर्क समितिकै रहेको छ ।

संघको सन् २०२१, अक्टोवरमा काठमाडौंमा हुन लागेको १० औं महाधिवेशन असफल पार्दै तीनवटा अध्यक्षको विजारोपण विदेशस्थित नेपाली कांग्रेसका समर्थक र जनसम्पर्क समितिहरुको सुझाव तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । देउवालाई तीनवटा अध्यक्ष बनाएर अघि बढ्न ३५ देश भन्दा बढीका जनसम्पर्क समितिहरुले लिखित रुपमा सुझाव दिएपछि नेपाली कांग्रेसले त्यसैलाई आधार बनाएर संघलाई बिभाजनमा पुराएको थियो ।

समृद्ध नेपालको परिकल्पनासहित नेपालीका लागि नेपाली भन्ने मुल नारासहित स्थापित संस्थाका नेपाली कांग्रेसले गरेको ठाडो हस्तक्षेपले विदेशमा रहेका नेपालीहरु आक्रोषित छन् । नेपाली कांग्रेस विदेशमा अलोकप्रिय बन्दै गएको छ । गैरआवासीय नेपाली संघको निर्वाचनमा पार्टीले गलत नीतिका कारणले पहिलो पुस्तामा मात्र होइन् विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत माफी दिने छैन् ।

आफ्नै भातृसंस्था हरेक देशमा चिराचिरा अवस्थामा रहेको नेपाली कांग्रेसले फेरि गैरआवासीय नेपाली संघको नेतृत्व कांग्रेसले जित्ने महत्वकांक्षका साथ संघको गत महिना सम्पन्न ११ औं महाधिवेशनमा महेश श्रेष्ठलाई आधिकारिक उम्मेदवारको रुपमा चुनावमा होमेको थियो । तर, विदेशमा अलोप्रिय बन्दै गएको र १० औं महाधिवेसनमा संघलाई विभाजनतिर धकेलेको प्रतिफलको रुपमा नेपाली कांग्रेसका उम्मेदवार तेस्रो हुन पुगे ।

माओवादीका उम्मेदवार आरके शर्मा दोस्रो हुदाँ यो नजिता कांग्रेसको लागि लज्जास्पद थियो । तर नेपाली कांग्रेसले यो निर्वाचनको परिणामलाई सामान्य रुपमा लिएको छ । समीक्षा गरेको छैन् । यो निर्वाचनलाई कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्छ र कांग्रेसलाई तेस्रो अवस्थामा पुर्‍याउने मतियारहरु माथि कार्यवाहीको डण्डा चलाउन सक्नुपर्छ ।
कांग्रेस महामन्त्री गगन थापाले भने जस्तै विदेशमा रहेका कांग्रेस र कांग्रेसीबीचको भिन्नता जबसम्म पार्टी बुझ्दै वा दुवैलाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउदैन तबसम्म पार्टीको आधिकारी उम्मेदवारले आगामी १० वर्षसम्म संघको निर्वाचन जित्दैन् ।

आगामी दिनमा नेपाली जनसम्पर्क समितिको माध्यबाट विदेशमा रहेका नेपालीहरु नेपाली कांग्रेसको लागि लड्ने र पार्टीको लागि एक्यबद्ध हुने सम्भवना सकिएको छ । बरु कयौं नेपाली कांग्रेसका कार्यकताहरु स्वतन्त्र पार्टीतिर अबद्ध हुन थालेका छन् । विदेशमा रहेका लोकतन्त्रबादीहरुको साझा संस्था बन्ने र पार्टीलाई सहयोग गर्नुपर्ने जनम्पर्क समितिहरु अहिले उद्देश्यभन्दा बिमुख छन् । र समाज बिभाजनको मुख्य मतियारको रुपमा उभिएका छन् ।

उनीहरुका गतिविधिले दोस्रो पुस्तालाई नेपाली कांग्रेसको मुल प्रभावमा ल्याउने सम्भवना त छर्दैछैन् पछिल्लो पुस्तामा रहेका नेपाली कांग्रेस समर्थकहरु समेत पार्टी नाम लिन छोडेर आफु लोकतन्त्रवादी भन्न रुचाउँछन् । जनसम्पर्क समितिहरुले विदेशमा रहेका विज्ञ, व्यवसायी, महिला, नयाँपुस्ता कुनै पनि तह र तप्कामा व्यक्तहरुलाई समेटको छैनन् । सीमित व्यक्तिहरुको सिंगो संस्थालाई झोलामा बोकेर हिडेका छन् । उनीहरुमाथि मलजल नेपाली कांग्रेसकै केन्द्रीय नेताहरुले बिभिन्न माध्यबाट गरिरहेका छन् ।

जनसम्पर्क समितिहरु केन्द्रीय नेताहरुको लागि विदेशमा आउदा ‘टुरिष्ट गाइड’ जस्तै हुन् । नेताहरु विदेशी विमानस्थलमा आउँदा खादामाल लिएर जाने जनसम्पर्क समितिहरुको दैनिकीजस्तै हो । स्थानीय सानो रेष्टुरेन्टमा दुई चारजना कार्यकर्ता जोडेर प्रवचन दिने कर्मकाण्डी काम नेताहरुले गरेका हुन्छ् ।

नेपाली जनसम्पर्क समितिमा आबद्ध सदस्यहरु अधिकांशले विदेशी नागरिकता लिएका छन् । उनलेको राजनीतिक अधिकार नेपालको संविधान २०७२ ले खोसी दिएको छ । नेपाली कांग्रेसको विधानले गैरआवासीय नेपाली नागरिकतालाई समेत मान्यता दिएको छैन् । पार्टीको विधानले विदेशी नागरिकता लिएकाहरुलाई क्रियाशील सदस्यता दिनसमेत रोक लगाएको छ । त्यसैले सामाजिक, राजनीतिक, नैतिक धरातलसमेत गुमाएका र उद्देश्य विमुख नेपाली जनसम्पर्कहरुलाई खारेज गर्दै नेपाली कांग्रेसले विदेशमा बस्ने नेपालीहरुलाई संगठित गर्न नयाँ संरचना अघि सार्नुको विकल्प छैन् ।

अहिले भइरहेका सम्पूर्ण संस्थागत संरचनालाई विघटन गर्दै नेपाली कांग्रेसको तर्फबाट विशेष प्रकारको समान हक र अधिकार रहेको सदस्यता दिएर सबैलाई केन्द्रको माताहतमा जोड्न सकिन्छ । जस्ले पार्टीभित्र नयाँ वा पुरानो पुस्ता सबैको अकर्षण बढ्न सक्छ ।