२१ बैशाख २०८१, शुक्रबार
Follow Us

‘जय नेपाल फाउन्डेसन’ को दसैँ तिहारको शुभकामना कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०८०, मंगलवार १५:५३

अमेरिका । सामाजिक सद्भाव, भाइचारा, आपसी एकता साथै धार्मिक र सांस्कृतिक महत्त्व बोकेका महान् चाड दसैँ र तिहारको उपलक्षमा ‘जय नेपाल फाउन्डेसन’ ले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । ‘जय नेपाल फाउन्डेसन’ का संस्थापक साथै केन्द्रीय अध्यक्ष डा यादव पण्डितको सभापतित्वमा गत आइतबार अनलाइन माध्यम जुमबाट आयोजित कार्यक्रममा एसिया, अस्ट्रेलिया ,युरोप, अमेरिका महादेशका विभिन्न देशबाट आमन्त्रितहरू सहभागी रहेका थिए ।

उल्लास र उमङ्ग छर्ने महानचाड दसैँ र तिहारले नेपाल र विश्वभर छरिएर रहनु भएका नेपालीहरूमा शुख शान्ति, सम्बृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरियो । चाडपर्वले नेपालको पहिचान,सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई मजबुत गराउँदै आएका कारण यसका मौलिक र परम्परागत पक्षलाई जोगाइ राख्न सक्नु पर्ने कार्यक्रममा सहभागीहरूले धारणा राख्नु भएको थियो ।

अध्यक्ष डा यादव पण्डितलाई बधाई दिँदै उहाँको नेतृत्वमा गठन भएको फाउन्डेसन स्थापनाको उद्देश्य र लक्षमा सफलताका मिलोस् भनी सहभागीहरूले शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

सो अवसरमा अध्यक्ष डा. पण्डितले फाउन्डेसन विधिवत् रूपमा स्थापना गरिएको जानकारी गराउनु भयो । जय नेपाल फाउन्डेसनको नेपाल शाखा गठन साथै गत अक्टोबरबाट सम्पर्क कार्यालय काठमांडौंमा स्थापना गरिएको छ । नेपालमा डा बद्री अर्यालको अध्यक्षतामा सचिव विजय अधिकारीले नेपालको जिम्मेवारी सम्हाल्नु भएको छ ।

नेपालीहरूको राम्रो उपस्थिति रहेका सबै देशहरूमा शाखा गठन गर्ने तयारी भइरहेको र छिटै नै काम अगाडि बढ्ने अध्यक्ष डा पण्डितले बताउनुभयो ।

प्रजातान्त्रिक विचार र सामाजिक भावना भएका व्यक्तिहरू एउटा साझा चौतारीमा बसेर विभिन्न मुद्धाहरुमा बिचार मन्थन, प्राज्ञिक छलफल र योजनाहरूमा ठोस काम गर्ने फाउन्डेसनको उद्देश्य रहेको छ ।

फाउन्डेसनको केन्द्रीय अध्यक्षमा डा यादव पण्डित र सचिवमा अग्नि चौलागाई हुनुहुन्छ । उहाँहरूले संस्थाको विधान तयारी, दर्ताको काम सम्पन्न गरी सक्नु भएको छ । फाउन्डेसनको विस्तारको लागि विभिन्न देशमा समभाव भएका प्रतिनिधिहरुसग सम्पर्क स्थापित गर्ने काम गर्नु भएको छ ।

यसै मेसोमा जय नेपाल फाउन्डेसनले नेपालीहरूको महानचाड दसैँ र तिहारको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।