१२ श्रावण २०८१, शनिबार
Follow Us

भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०८०, आईतवार ०७:१४

भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार प्रयास लम्बिएको छ । निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि गत आइतबारदेखि एक्स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर निरन्तर पहिरो आएपछि र हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धार प्रभावकारी हुन नसकेको हो । उद्धार प्रयासस्वरुप मानिसहरु रहेको ठीक माथिबाट प्वाल बनाउने तयारी भएको छ ।

करिव १ सय मिटरमाथिबाट प्वाल बनाई उनीहरुको उद्धार गर्न लागिएको उद्धार टोली प्रमुख नमन नारुलाले जानकारी दिए । सुरुङमा ४१ जना फसेको स्थानीय सरकारी अधिकारी अभिषेक रुहेलाले पुष्टि गरेका छन् ।

शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य अवरूद्ध भएको हो । उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी भैरहेको जनाएका छन् ।

सुरुङमा फसेकाको जीवन रक्षाका लागि खाना, पानी, अक्सिजन र औषधि ६ इन्च चौडा पाइपमार्फत पठाइएको छ । उद्धारमा ढिलाइ भएपछि सुरुङभित्र फसेकाहरू निराश भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।