१२ श्रावण २०८१, शनिबार
Follow Us

आक्रोशपछि संसदमै आगो

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०८०, मंगलवार ०६:१६

सत्तापक्ष र प्रतिपक्षी दलबीचको असमझदारी बढेसँगै अल्बानियाको संसदमै आगजनी भएको छ । सत्तापक्षले एकोहोरो पेलेको भन्दै विरोधमा विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदले संसदमै धुवाँ बम पड्काएका छन् ।

विभिन्न रङको धुवाँ बमले संसदको च्याम्बर नै धुवाँदार बनेको थियो । धुवाँसँगै सामान्य आगजनी समेत भएको थियो । सांसद र सुरक्षाकर्मीहरुले आगो लागेको केहीबेरमै निभाएका थिए ।

संसदमा आगामी वर्षको बजेटमा हुन लागेको मतदान रोक्न माग गर्दै विपक्षी दलले धुवाँ बम पड्काएको जनाएको छ । संसदभित्र अराजक गतिविधि हुने अवस्था देखिएपछि प्रधानमन्त्री इदी रामलाई विशेष सुरक्षा घेराभित्र राखिएको थियो ।

विपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री साली बेरिशाले सरकारले संसदमा विपक्षीको आवाज बन्द गराउन खोजेको आरोप लगाउनुभयो । अल्बानियाको संसदमा प्रधानमन्त्री इदी रामको समाजवादी पार्टी बहुमतमा छ ।

प्रतिपक्षको उत्ताउलो प्रदर्शनप्रति संकेत गर्दै प्रधानमन्त्री रामले “विपक्षीहरुले सडकको शव्द र व्यवहार राजनीतिमा ल्याएको” प्रतिक्रिया दिनुभएको छ । अल्बानियामा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध तनावयुक्त रहँदै आएको छ ।

कुनैबेला विपक्षी दलका नेता साली बेरिसा सत्तामा हुँदा पारिवारिक सदस्यहरुलाई राज्यकोषको दुरुपयोगमा प्रेरित गरेको आरोप छ ।