१२ श्रावण २०८१, शनिबार
Follow Us

युद्ध विश्रामको अवधि लम्ब्याउँदै थप बन्धक रिहा गर्न हमास सकारात्मक

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०८०, सोमबार ०६:५४

इजरायल र प्यालिस्टिनी सशस्त्र समूह हमासबीचको युद्ध विश्राम चौथो दिन प्रवेश गरेको छ । पूर्वसहमति अनुसार आज युद्ध विश्रामको अन्तिम दिन हो ।

हमासले युद्ध विश्रामको अवधि लम्ब्याउन खोज्दै थप बन्धक रिहा गर्न चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि थप बन्धक मुक्त गर्न र गाजा क्षेत्रमा मानवीय सहायता पुर्‍याउन युद्धविश्राम लम्ब्याउनु पर्ने बताएका छन् ।

हिजो तेस्रो दिन हमासले १३ इजरायली, तीन थाई र एक रुसी नागरिक गरी १७ बन्धक मुक्त गरेको थियो । जसमा चार वर्षीय अमेरिकी-इजरायली द्वैध नागिरकता भएकी बालिका पनि थिइन् ।

इजरायली जेलबाट पनि ३९ प्यालिस्टिनी बन्दी रिहा भएका छन् । उनीहरु सबै किशोर हुन् । दुवै पक्षबाट मुक्त भएकाहरु र तिनका परिवारसँग पुनर्मिलन हुँदा निकै खुशी र भावविह्वल अवस्था हुने गरेको छ ।

आजसम्म हमासले ५८ बन्धक तथा इजरायलले एक सय १७ प्यालिस्टिनी मुक्त गरेका छन् । अब एक सय ८९ बन्धक हमासले नियन्त्रणमा राखेको छ । सहमतिअनुसार इजरायलले ३३ प्यालेस्टिनी मुक्त गर्न बाँकी छ ।