१० जेष्ठ २०८१, बिहीबार
Follow Us

रविले बेलायतमा भने ‘एक पटकको नेपाली सधैंको नेपाली’

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०८०, मंगलवार ०१:३१

लन्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने’ नीति आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।

लामिछानेले सोमबार मिडल्यान्डका नेपालीसँग अन्तरक्रिया गर्दै गैरआवासीय नेपालीहरुको नागरिकता सम्पतिको सुरक्षाको लागि रास्वपा साथ दिने बताए । उनले गैरआवासीय नेपाली नागरिकताका बारेमा दुई प्रकारका दृष्टिकोण बाहिर आए पनि आफ्नो पार्टीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्या राख्ने बताए । उनले वंशजको नागरिकताको विषयमा थप छलफल गर्न सकिने बताए ।

बर्मिङहमस्थित ‘द ब्रिटानिया इन’ मा भेला भएका चार सय बढी नेपालीलाई सम्बोधन गर्दै बेलायतस्थित भूपूगोर्खाहरुको समान अधिकारको आन्दोलनमा आफ्नो पार्टीको एक्यबद्धता रहने बताए ।

त्यस क्रममा सभापति लामिछानेले वर्तमान व्यवस्थाबाटै देशको अवस्था परिवर्तन गर्नुपर्ने पार्टीको मान्यता रहेको स्पष्ट पारेका थिए।

रास्वपा सम्पर्क विभाग यूकेका सभापति पवन शर्माका सभापतित्वमा सम्पन्न कार्यक्रम महामन्त्री राजु कंडेलले सञ्चालन गरेका थिए भने प्रवक्ता विष्णु चालिसेले हेल्थ एन्ड सेफ्टी ब्रिफिङ तथा क्षेत्रीय सभापति गंगा गौतमले स्वागत गरेका थिए। कार्यसमिति सदस्य गोमा पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन्।

लामिछानेसँग मंगलबार बिहान ११ देखि १ बजेसम्म एशियन कम्युनिटी सेन्टर प्लमस्टिड तथा अपरान्ह ४ बजे एम्पायर हल अल्डरसटमा खुला अन्तरक्रिया हुँदैछन् ।

मिडल्यान्डको अन्तरक्रियामा कुनै खादा, मालाको प्रयोग गरिएको थिएन। सभापति लामिछानेलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर स्वागत गरिएको थियो भने उनले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका थिए।

पत्नी निकिता पौडेल र स्वकीय सचिव एवं पार्टी केन्द्रीय सदस्य दीपक बोहोराका साथ बेलायत आएका लामिछाने यही डिसेम्बर १४ मा नेपाल फर्किनेछन्।