१३ जेष्ठ २०८१, आईतवार
Follow Us

सरकारी कोटामा नै अझै ८ सय पशु चिकित्सक रिक्त

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८०, शनिबार ०६:५३

काठमाडौं । नेपालमा पशु चिकित्सकहरुको चरम अभाव देखिएको छ । बैदेशिक रोजगारीका लागि भनी दिनहुँं हजारौ युवा विदेशिरहेको बेला पशु चिकित्सक दुईगुणाले अभाब भएको देखिएको हो ।

पशु चिकित्सक परिषद्का अनुसार नेपालमा सरकारीस्तरमा मात्रै एक हजार दुई सयको हाराहारीमा पशु चिकित्सक ९भेटेरिनरी डाक्टर० आवश्यक छ । तर तीमध्ये झण्डै आठ सय पशुचिकित्सक खाली छन् अर्थात अभाब रहेको तथ्या‌‌कले देखाएको छ ।

परिषद्का अनुसार देशभरिका संघ, प्रदेश र स्थानीय तहमा कुल १ हजार दुई सय एकजना पशु चिकित्सक र पशु विकास अधिकृतहरूको दरबन्दी छ । तर समयमै भर्ना नखुलाउँदा र स्थानीय तहमा जाँदा तह घटुवा हुने हुँदा पदपूर्ति हुन अझै नसकेको देखिएको छ । पशु चिकित्सक परिषद्का रजिष्टार डा। मनोजकुमार शाहीका अनुसार सरकारी र निजीबाट गरेर देशभरका लागि दुई हजार नौ सय पशु चिकित्सक आवश्यक छ । तर सरकारी र निजी दुवै क्षेत्रमा पशु चिकित्सकको अभाब छ ।

चिकित्सक अभावकै कारण स्थानीय तह आफैँले भेटेरिनरी अस्पतालसमेत सञ्चालन गरेका छैनन् । प्रदेशस्तरीय भेटेरिनरी अस्पताल पनि छैन । ७७ मध्ये ५१ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा छन् । सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक ९भेटेरिनरी डाक्टर० खटाउन नसक्दा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोगलगायतलाई नियन्त्रण गर्न सरकारलाई कठिनाइ छ ।

परिषदका अनुसार सात सय ५३ स्थानीय तहमध्ये दुई सय ३७ पालिकामा मात्रै पशु चिकित्सक कार्यरत छन् । बाँकी पाँच सय १६ स्थानमा पशु चिकित्सक खटाउन सकिएको छैन । सुरुमा दुई सय ८३ पालिकामा पशु चिकित्सक खटाइएको भए पनि विभिन्न असन्तुष्टिका कारण ४६ जनाले जिम्मेवारी छाडेको परिषद्को भनाइ छ । जसकारण हाल दुई सय ३७ स्थानमा मात्रै पशु चिकित्सक कार्यरत छन् ।

परिषद्का प्रवक्तासमेत रहेका डा।शाहीले प्रदेश लोक सेवाबाट समयमै पर्याप्त मात्रामा पदपूर्ति हुन नसक्दा स्थानीय तहमा पशुविज्ञ चिकित्सकहरूको अभाव भएको बताए । ‘समयमा हुन नसकेको पदपूर्ति र तहगत संरचना नमिल्दा अभाव भएको हो,’ उनले भने । स्थानीय तहमा समायोजन हुँदा एक तह घटुवा हुने भएकाले पनि पशु चिकित्सकहरूको अभाव हुन थालेको उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ०७५ मा समायोजन गर्दा जम्मा एक सय २६ जना दर्तावाल पशु चिकित्सकहरू स्थानीय तहका लागि छानिएका थिए । त्यस्तै, संघको ससर्त अनुदान कार्यक्रमअन्तर्गत एक पालिका एक पशु चिकित्सक र केही स्थानीय तहले आफ्नो स्रोतबाट खर्च हुने गरी करारमा कुल एक सय ५७ पशु चिकित्सक भर्ना गरेका थिए ।

अहिले नेपालमा उत्पादन हुने पशुपक्षी क्षेत्रको अधिकांश जनशक्ति उच्च शिक्षा र अवसरको लागि विदेशिएको र बाँकी रहेको जनशक्ति व्यवसाय भन्दा पनि रोजगारीमा संलग्न भएको पाइन्छ । कृषि विषयमा अध्ययन गरेका विज्ञहरूले पशुपक्षी उत्पादन र यस सम्बन्धी उद्यममा लाग्ने हो भने नेपालको पशुपक्षी क्षेत्रको रूपान्तरण सम्भव देखिन्छ तर यसको लागि सरकारले यस्तो दक्ष जनशक्तिलाई देशभित्रै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले यी सबै एउटै तहका डाक्टर हुन् भनेर ‘वान हेल्थ’ को अवधारणा ल्याएको छ । भारत, युरोपलगायतका देशमा सबैको एउटै तह छ । तर हामीकहाँ पशु चिकित्सकलाई भेदभाव गरेर मनोबल घटाउने काम गरिएको छ । यही कारण पनि पशु चिकित्सक स्वदेशमै रोजगारी गर्न नचाहेको बताइन्छ ।