१२ श्रावण २०८१, शनिबार
Follow Us

मनोजबाबु पन्तले पाँचौँ बाह्खरी प्रतियोगिताको प्रथम उपाधि चुम्न सफल

नेपालब्रिटेन संवाददाता
९ पुष २०८०, सोमबार ०६:१६

काठमाडौं । कथाकार मनोजबाबु पन्तले “बुढो लाँकुरीको रुख” लेखेबापत ‘डिस होम पाँचौँ बाह्खरी कथा लेखन प्रतियोगिता–२०८०’ को प्रथम उपाधि चुम्न सफल भएका छन् ।
सो प्रतियोगिता अन्तर्गत आज आयोजित विजेता घोषणा तथा उत्कृष्ट कथासंग्रह विमोचन समारोह मार्फत उनले नगद राशि रु एक लाख सहित टर्फि र माला एवं सो श्रेणीको उपाधि पाएका हुन् ।

यसैगरी प्रतियोगिताको द्धितीय चरण भने “काँचुली” कथासंग्रहका लेखक प्रमोद प्याकुरेलले नगद राशि रु ६० हजार सहित प्राप्त गरे भने तृतीय चरण “चेपाङ, चमेरा र चिउरी” का लेखक विजय हितानले नगद रु ४० हजार सहित प्राप्त गरेका छन् । उक्त कार्यक्रममा प्रतियोगिलाई उपाधि पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठ सहितका व्यक्तिले पालै पालो प्रदान गर्नुभएको थियो ।

सो प्रतियोगितामा आठ सय ४३ व्यक्तिले भाग लिएका र २५ उत्कृष्ट कथासंग्रह छनोट भएका छन् भने अतिथि कथाकारहरुको ४ कथासहित कूल २९ कथाको सँगालो रहेको छ । छनोट हुनेमा सो तीन सहित कथाकार अनिता पन्थीको “जुलुस उठेको रात”, उमा शर्माको “तनुश्रीको भाडाको घर”, जे.एन दाहालको “अन्ठाउन्नको रसिद”, डिल्लिरमण पौडेलको “मेरो कथा”, तैँ तैँ धितालको “अप्रिय पिताजी”, त्रिभूवन वाग्लेको “म्हयाय्चा”, दिनमान गुर्मछानको “सन्ताप”, दिव्य गिरीको “असार पन्ध्र”, दीपक लोहोनीको “दरबारको दुःख”, महेश चौलागाईको “गल्ली”, रबट जोशीको “म, जल्लाद प्राणनाथ”, रमा सुवेदीको “अर्काे म”, रमेशजंग थापाको “ओथ”, राजेन्द्र अधिकारीको “प्रायश्चित”, राजेश सुवेदीको “सागी प्रेमी”, विक्रम नेपालको “तेजाब”, वसन्तबायुङ राईको “रातो भत्ता”, शंकर धितालको “साक्षी”, डा. श्रीधर खनालको “जीपीटी २०००”, सञ्जय घिमिरेको “चन्द्रमा देब्रे, चन्द्रमा दाहिने”, सोमनाथ दाहालको “ख्याक” र हिरा लामाको “मिटर ब्याज” आदिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले १२खरीले सो प्रतियोगिता आगामी दिनमा समेत निरन्तरता गरी साहित्यकारको सम्मानमा अझै जुट्नका लागि अपिल गरे । उनले भने, “साहित्य समाजको दर्पण भएकाले यसले चेतना दर्शाउने काम गर्छ ।”

डिस मिडिया लिमिटेडका अध्यक्ष देवीप्रकाश भट्टचन्दले साहित्यकारले लेखनको माध्यमबाट सरकारलाई पनि सहयोग गर्नुपर्ने भनाइ राखे । सो कथा प्रकाशन संस्थाका प्रमुख अजित बरालले विगत पाँच वर्र्ष अघिदेखि प्रतियोगिता मार्फत आफूहरुले वार्षिक रुपमा राम्रो कथा छान्ने अवसर पाएको दाबी गरे ।