१२ श्रावण २०८१, शनिबार
Follow Us

गौशालाबाट बालिका अपहरण गरेको आरोपमा युवक पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ पुष २०८०, बिहीबार १४:११

काठमाडौं । प्रहरीले गौशालाबाट दुई वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर भएका राज नेपाल रहेका छन ।

उनले काठमाण्डु महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट दुई वर्षीय बालिकालाई लिएर गएको प्रहरीले जानकारी दिएको छ । आरोपीले पठाओमा चढाएर बालिकालाई भक्तपुरस्थित दधिकोटमा लगेर राखेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन । बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् ।

पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई जानकारी गराएका थिए । आरोपीले प्रहरीसँग ती बालिका आफ्नै बच्चा भएको जिकिर गरेका छन् । उनले प्रहरीसँग भनेका छन्–‘चिया पसलेले मेरो छोरी लगेर राखेका थिए, मैले ल्याएको हुँ ।’

अफलाइन पठाओमा चढाएर बालिका लगेको हुनाले प्रहरीले सिसिटिभीको सहायताले अनुसन्धान गरेर उनलाई पक्राउ गर्न सफल भएको छ । आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी कुमोध ढुङ्गेलले जानकारी दिएका छन ।