१२ श्रावण २०८१, शनिबार
Follow Us

विद्युत महशुल नबुझाउने एनसेलका छवटा टावरको लाईन काटियो

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८०, शुक्रबार ११:१९

मकवानपुर । वक्यौता विद्युत महशुल नतिरेका कारण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाईन काटेको छ । उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता रकम विगत चार महिनादेखिको नबुझाएको भन्दै प्राधिकरणले लाईन काटेको हो ।

पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताउनु भयो ।

सिमभन्ज्याङ्ग, कुलेखानी देउराली, सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाईन काटेको हो । वक्यौता बुझाउन पटक आग्रह गर्दा समेत अटेर गरेकाले बाध्य भएर लाईन काटिएको र महशुल नुबझाए क्रमशः सबै टावरको लाईन काटिने प्रमुख न्यौपानेले बताउनु भयो ।

विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाईन काटेर ९० लाख बक्यौता रकम उठाएको छ ।