१२ श्रावण २०८१, शनिबार
Follow Us

१९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्वाचन आयोगको निर्देशन

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०८०, शुक्रबार ०७:०४

काठमाडौं । निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलको नाम, उद्देश्य, चिह्न वा झन्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा दल दर्ता नहुने उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन भने २०७३ मा मात्रै यो व्यवस्था आएको हो । यसैगरी आयोगले ४१ राजनीतिक दललाई खारेजको प्रक्रियामा लैजाने भएको छ । दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक गरेका छैनन् ।

ती दललाई जरिवाना तोकेकोमा जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा लाने भएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ ।