१० जेष्ठ २०८१, बिहीबार
Follow Us

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०८०, आईतवार ०६:०५

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो ।

श्रीमान्को मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किएकी फुरदिकु गत माघ ३ गतेदेखि आफैँ बिरामी परिन् । मानसिक रोगले ग्रसित फुरदिकुलाई अहिले परिवारका अन्य सदस्यले माइती घर अगाडि काठको खोर बनाएर त्यसभित्र राखेका छन् ।

काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । बुबा पेमाछेतर र आमा निम्ने शेर्पाकी जेठी छोरी फुरदिकुलाई गत माघ १६ गतेदेखि खोरमा राखिएको छिमेकीले बताएका छन् ।

घर छाडेर हिँड्ने, गालीबेइज्जत बोल्ने तथा आफ्नो अगाडि देखा परेका जोकोही मानिसमाथि जाइलाग्ने व्यवहार देखाउन थालेपछि छोरी फुरदिकुलाई नियन्त्रण गर्न खोरभित्र राख्नुपरेको बुबा पेमाछेतरले बताए । “फुरदिकु १६ वर्षकै उमेरदेखि मानसिक रोगी थिइन् । उनलाई दुई वर्षअघि पाटन अस्पताल काठमाडौँमा लगेरसमेत उपचार गरियो । दुई महिना पाटन अस्पताल राखेर ल्याएपछि ठीक भएको थियो”, उनले भने, “उनीलाई पुनः सोही प्रकृतिको बिरामी बल्झिएको छ । उनीलाई सम्झाएर नियन्त्रण गर्न नसक्ने अवस्था छैन । बिगार गर्न नदिनका लागि खोरमा राख्न बाध्य भएका छौँ । उसको उपचारमा रु सात लाखभन्दा बढी खर्च भइसक्यो । आम्दानीको स्रोत छैन । पुनः उपचार गर्न पाएको खण्डमा ठीक हुन्छ भन्ने लाग्छ । तर, हामीसँग खर्च छैन । कसैको सहयोग पाए उपचारमा लैजान्थ्यौँ, छोरी हो ! माया लाग्छ ! तर, बाध्य भएर खोरमा राख्नुपरेको छ ।”

आमा फुरदिकुलाई खोरभित्र राखिएपछि कक्षा–३ मा अध्ययनरत छोरा पसनुरीको हेरचाह बाजे(बजूले गर्दै आएका छन् । बुबा(आमाको रेखदेख तथा हेरचाह आवश्यक पर्ने अवस्थामा बुबाको मृत्यु तथा आमा बिरामी भएपछि छ वर्षीय बालक (पसनुरी)को भविष्य अन्यौलमा परेको देखिएको छ ।

फुरदिकुलाई गत माघ २१ गतेदेखि जिल्ला अस्पताल खोटाङबाट मानसिक रोगसम्बन्धीको औषधि खरिद गरेर सेवन गराइरहेको आमा निम्लेले बताइन् । “औषधि खाएको केही समयसम्म ठीक हुन्छ । औषधिले काम गर्न छाड्ने बित्तिकै मनलाग्दी बोल्छ । बेसुरमा गीत गाउँछ । आफ्नो अगाडि मान्छे आएको देख्नासाथ मुखमा जे आउँछ त्यही बोल्छ । गाउँमा बसिएको छ । आफन्तहरू आउँछन् । उनीहरूलाई बसिसक्नु दिँदैनन्”, उनले भनिन्, “फकाएर औषधि सेवन गराएपछि होसमा आएको समयमा खाना तथा खाजा माग्छ । खाना तथा खाजा राम्ररी खान्छ । बाहिर निकाल्यो भने हिँडिहाल्छ ! यसअघि पनि तीन/चार दिनसम्म हराएपछि खोजी गरेर ल्याएका थियौँ । उसको गोठाला गरेर बसौँ घर खेती गर्नुपर्छ ! नगरौँ सबै थोक बित्छ । ”

सामान्य घर खेतीबाट परिवार चलाउँदै आएका शेर्पा दम्पतीलाई जेठी छोरी फुरदिकुमा देखिएको समस्याले झनै समस्या भएको छिमेकी दोर्जे शेर्पाले बताए । “पाँच सन्तानका बुबा/आमा पेमाछेतर र निम्लेलाई ठूलो समस्या आइलागेको छ । छिमेकमा बसेका हामीले गर्न सक्ने भनेको अर्मपर्म हो । त्यस्तो सहयोगले उनीहरूको समस्या समाधान हुनेवाला छैन”, उनले भने, “पेमाछेतर र निम्लेलाई परेको समस्यामा सरकारको ध्यान जान जरुरी छ । उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन । यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ ।”

विसं २०६६ मा नुनथलास्थित जालपा माध्यमिक विद्यालय नुनथलाबाट प्रवेशिका उत्तीर्ण गरेकी फुरदिकुलाई सुरुमा धामी झाँक्रीसमेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०५० साउन १५ गते जन्मिएकी फुरदिकुमा देखिएजस्तो लक्षण यसअघि बुबा पेमाछेतर र आमा निम्लेलाई समेत देखिएको र उनीहरूको समस्या बिस्तारै ठीक भएको जनाइएको छ ।