२७ बैशाख २०८१, बिहीबार
Follow Us

रेश्मले किन लेखे यस्तो स्टाटस ?

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०८०, बुधबार ०६:२८

काठमाडौं । रेशम चौधरी आफ्नी श्रीमती रञ्जितालाई सम्झाउन कैलालीबाट काठमाडौं आएका रहेछन् । पार्टीभित्रको श्रीमान-श्रीमतीको विवाद बाहिर छताछुल्ल भएपछि उनी श्रीमती सम्झाउन काठमाडौं आएका हुन् । ‘दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ चौधरीले यसबारे आज आफ्नो फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना बन्दी रिहाइ गरेकाले उनको साथ छोड्नु नहुने रञ्जिताले बताएको रेशमले खुलाएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेतासमेत रहेका रञ्जिताका श्रीमान् रेशमबीच नयाँ सत्ता गठबन्धनमा बनेको संघीय सरकारलाई समर्थन गर्न कि नगर्ने भन्नेमा विवाद चुलिएको हो । तर रेशमले भने उक्त विषय घर झगडा नभएर राजनैतिक विषय भएको तर्क गरेका छन् । उनले जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै लेखेका छन्- ‘आज- जिते प्रचण्ड/ओली जित्लान्, भोलि फेरि देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

पार्टी अध्यक्ष रञ्जिताले आफ्नो कुरा नमानेको रेशमको तर्क छ । उनलाई सम्झाउन नसक्नु आफ्नो विवशता भएको रेशमले स्विकारेका छन् । ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ,’ उनले अगाडि भनेका छन्, ‘रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नै पर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’