१९ बैशाख २०८१, बुधबार
Follow Us

‘जनता जान्न चाहन्छन’ कार्यक्रममा नक्कली गेष्ट, ऋषि धमलालाई नै झुक्काए पछि…..

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०८०, बुधबार २१:२५

लण्डन । चर्चित पत्रकार ऋषि धमलाले संचालन गर्ने ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा एक जना नक्कली गेष्ट पुगे पछि उनले लिएको अन्तरवार्ता विवादमा परेको छ ।

गैरआवासीय नेपाली संघ (पोर्चुगल) का अनुसार विक्की सुवेदी नामका एक व्यक्तिले आफु संघको बरिष्ठ उपाध्यक्ष भएको भन्दै धमलालाई अन्तरवार्ता दिएका थिए ।

गैरआवासीय नेपाली संघ पोर्चुगलले एक विज्ञप्ति बुधवार एक विज्ञप्ति जारी गर्दै ‘१२ मार्च २०२४ तदानुसार २०८० फागुन २९ गते मंगलबारका दिन नेपालको एउटा लोकप्रिय टेलिभिजन मार्फत प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्ष हुँ भनी अन्तरवार्ता दिने विक्की सुवेदी’ नक्कली भएको पुष्टि गरेको छ ।

विज्ञप्तिमा ‘एनआरएनए पोर्चुगलको वर्तमान कार्यसमिति र क्षेत्रीय समितिहरूमा पनि निज विक्की सुवेदी वरिष्ठ उपाध्यक्ष लगायत अन्य कुनै पनि पदको जिम्मेवारीमा रहेका छैनन् । निजले आफू एनआरएनए पोर्चुगल वरिष्ठ उपाध्यक्ष हुँ भनी सञ्चारकर्मी समेतलाई झुक्याएर अन्तर्वार्ता दिनु सरासर गैरकानुनी र बद्नियतपूर्ण कार्य हो’ भनिएको छ ।

विज्ञप्तिमा ‘अन्तर्वार्तामा उनले नेपाली समुदायको बारेमा अनावश्यक झुट्टो विवरण र जानकारी दिएर समुदाय कै अपमान गर्ने दृष्टता समेत गरेका छन्। अन्तर्वार्तामा उनले दिएका विवरण र गरेको दावी अधिकांश गलत,अतिरन्जित र बनावटी रहेका छन् । पोर्चुगलको नेपाली समुदायमा सामाजिक रूपमा पनि उनी कहीँकतै क्रियाशील रहेको देखिदैन्,पाइँदैन्। नितान्त आफ्नो व्यक्तिगत स्वार्थ र प्रचारका लागि एउटा राष्ट्रिय संचारमाध्यम र चिरपरिचित सञ्चारकर्मीलाई समेत गुमराहमा राखेर अन्तर्वार्ता मार्फत उनले दिएको अभिव्यक्तिको एनआरएनए पोर्चुगल खण्डन र भत्सर्ना गर्दछ’ भनिएको छ ।

संघले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पनि सत्यतथ्य र वास्तविकता बुझेर आधिकारिक व्यक्ति वा संस्थाको प्रतिनिधि मार्फतबाट मात्र पोर्चुगलको नेपाली समुदायको बारेका समाचार वा अन्तर्वार्ता प्रकाशन र प्रसारण गर्न आग्रह गरेको छ ।