२७ बैशाख २०८१, बिहीबार
Follow Us

टेलिकम टावरमा कुकर बम बिस्फोट

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८०, शुक्रबार ०७:१०

सिन्धुली । सिन्धुलीमा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित बिपीपार्क नजिक आज बिहान बम बिस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहान ३ बजेतिर बिस्फोटको आवाज आएपछि प्रहरी चौकी दुम्जालाई जानकारी गराइएको थियो । सोसम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपि पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसँगै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो ।

एनटिसीको टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा अपरिचित समुहले कुकर बम बिस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रबत्ता दहालका अनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षति पुगेको छ ।

टावरको कम्पाउण्डभित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ति सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।