२६ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस पनि दूधले नुहाएको पार्टी होइन: गृहमन्त्री लामिछाने

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०८०, मंगलवार १३:०७

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको दाबी गरेका छन ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठक पछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो बताएका हुन ।

उनले कांग्रेसले सामान्य उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गरेका छन । आजको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए । यसको जवाफ दिदैँ गृहमन्त्री लामीछानेले यस्तो बताएका हुन ।

उनले भने, ‘एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो’ । लामिछानेले आफ्ना विषयमा कांग्रेसले अनावश्यक विवाद झिकेको आरोप लगाएका छन ।

उनले भने, ‘संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरुले माग्ने कुरा हो । माग्ने कुरा आफ्नो ठाउँमा छ । कुन ढंगले जान्छ हेरौँ । विवाद हुनु र गराइनु फरक छ’ । लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ कामबाट दिने बताएका छन ।