२० बैशाख २०८१, बिहीबार
Follow Us

जर्मनीका लागि महावाणिज्यदूत थापाको पदावधि ४ वर्ष थप

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०८०, शुक्रबार ०९:३९

लण्डन । नेपाल सरकारले जर्मनीको लागि अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको पदावधी ४ बर्ष थप गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले थापाको पदावधि थप गरेको हो ।

नेपाल सरकारले उनलाई सन् २००३ मा पहिलो पटक जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत बनाएको थियो। उनी सन् २००० देखि जर्मन–नेपाल मैत्री संघका अध्यक्ष पनि हुन्। उनले जर्मनीमा रहेर नेपाली पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका छन् ।

को हुन् रामप्रताप थापा

गोरखाको मध्यम वर्गीय परिवारमा सन् १९५० मा जन्मिएका थिए उनी। १९७४ मा पहिलो पटक घुम्न भनेर जर्मनी थिए।

विदेशमै बस्ने रहर त थिएन। परिवार चाहन्थे उनी नेपालमै बसुन्। नेपालमै केही गरुन्। गोरखाको भूमिमा धेरै लामो पुस्तादेखि बस्दै आएको परिवार भनेर चिनिन्थे उनीहरू। पहिलो चोटी जर्मनीका सहर घुमेर फर्किएका उनलाई यहीँको प्रेमले पढ्नका लागि भनेर फेरि तान्यो। सन् १९७६ मा दोस्रो पटक यहाँ आएपछि यहीँ प्रेममा उनी बाँधिए अनि यतै बसे।

घरबास जमिसकेको थियो। पढाइ सकिएको थियो। जागिर पनि भेटाइसकेका थिए। लगभग ३० वर्षसम्म उनले यहाँको प्रतिष्ठित बैंकमा काम गरे।

दोस्रो विश्वयुद्ध सकिएपछि सारा देशहरू पुनस्निर्माणमा जुट्न थालेका थिए। त्यसपछि विश्वभरि शान्ति अभियान घन्किएको थियो। त्यही बेला विश्वका धेरै देशमा नेपालीहरू पनि पुग्न थाले। यहीको माटोमा पसिना बगाउने नेपालीहरू बाक्लिइरहेका थिए। जर्मनका सहर अनि कुनाकाप्चामा पनि नेपाली पुग्न थाले।

सन् २००० को युग सुरु हुँदै गर्दा विश्वका धेरै भागमा नेपाली पाइलाहरू सल्बलाइसकेका थिए। धेरै नेपालीहरु पढ्न अनि काम गर्न भनेर विश्वका धेरै देशमा पुगिसकेका थिए। त्यहीँ जमिसकेका थिए। त्यो बेला सार्क बाहेकका देशहरूमा करिब ५ लाखभन्दा धेरै नेपाली छरिइसकेका थिए।

सुरुमै विदेशी भूमिमा पुगेर त्यहाँ जागिर अनि ब्यापार गरेर लगभग आफूलाई ‘सेट’ गरिसकेका नेपालीले त्यसपछि विश्वभरका नेपालीलाई एउटै छातामुनि ल्याउने प्रयास थाले।

त्यतिबेला सबैभन्दा बढी नेपालीहरू केन्द्रित अनि भू।पू गोर्खा सैनिकहरुको बसोबास रहेको बेलायतबाटै सबै नेपालीलाई एकै ठाउँमा प्रयास थाल्न त्यो बेला मस्कोका डा. उपेन्द्र महतो, जीवा लामिछानेसहित विभिन्न देशका १६ जनाको बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को रचना गरे।

एनआरएनए जन्माउने मध्येका एक हुन्, यिनै रामप्रताप थापा। लण्डनको उक्त बैठकपछि २००३ को अक्टोबर ११ का दिन काठमाडौंमा पहिलो गैरआवासीय नेपाली (एनआरएन) सम्मेलन सम्पन्न भयो। उनी गैरआवासीय नेपाली संघको संस्थापक हुन् ।