लन्डन । चर्चित नेपाली श्रव्यदृश्य शृंखला, हेर्ने कथा, को टीम यही अप्रिल महिनाको अन्त्यमा बेलायत आउन लागेको छ।
आफ्नो तीन साता लामो बेलायत भ्रमणको क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपाल अध्ययन दिवस’ मा सहभागी हुनेछ। त्यस्तै लन्डन, अल्डरशट, म्यानचेस्टर लगायतका शहरहरुको भ्रमण गरी भूतपूर्व गोर्खा लगायत बेलायतमा बसोबास गरी रहेका प्रवासी नेपालीहरुको कथा संकलन गर्नेछ।
“बेलायतको नेपाली समुदायसंग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्न हामी निकै उत्सुक छौं। तपाईंहरुका कथाव्यथा र उपलब्धिहरु आम दर्शकहरु माझ पुराउने अवसरको रुपमा पनि हामीले यो यात्रालाई लिएका छौं,” ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले भनिन्। बीबीसीको साझा सवाल प्रस्तुत गरेर चर्चामा आएकी विद्याले बीबीसी छाडे पछि आफ्ना साथी कमल कुमारसंग मिलेर ‘हेर्ने कथा’ शुरु गरेकी थिइन्।
बेलायत भ्रमणका क्रममा टिम ‘हेर्ने कथा’ ले ४ मेमा सोआस (ब्रुनइ ग्यालरी) तथा ५ मे मा एम्पायर हल, अल्डरशटमा आफ्ना दर्शक तथा शुभेच्छुहरुसंग अन्तरक्रिया गर्नेछ । मे ५ मा एम्पायर हलमा गरिने कार्यक्रम दिउंसो १ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ। त्यस्तै, ‘हेर्ने कथा’ टिम मे १३ मा एडिनबरा तथा मे १६ मा म्यानचेस्टरमा हुनेछ।
गएको ६ वर्षमा युट्युब मार्फत १०० ओटा भन्दा बढी ‘हेर्ने कथा’ का कथाहरु प्रसारण भै सकेका छन्। सामान्यतया मिडियाको दृष्टि नपुग्ने दुर्गम भेगमा रहेका सर्वसाधारण नेपालीका असाधारण संघर्षका कथाहरु सुनाएर चर्चामा आएको ‘हेर्ने कथा’ शृंखलालाई युट्युबमा दश लाख भन्दा बढी दर्शकहरुले पछ्याउंछन् ।