१४ असार २०८१, बिहीबार
Follow Us

नेपाली फुटबल टोली लन्डन दूतावासमा सम्मानित (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०८१, बिहीबार १४:४९

लन्डन । नेपाली राष्ट्रिय टोलीका खेलाडी लन्डनस्थित नेपाली दूतावासमा सम्मानित भएका छन् ।

विहिबार साँझ दूतावासमा एक रिसेप्सन आयोजना गरी खेलाडी र अफिसियलका साथै आयोजक, स्वयमसेवक र प्रायोजकसमेतलाई सम्मान गरिएको हो ।
सो टोलीले मे ६ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ संग ऐतिहासिक फुटबल खेलेको थियो ।

सो अवसरमा राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली टोलीका खेलाडीहरुसंगै प्रशिक्षक र व्यवस्थापन समूहका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरे ।

उनले खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, इंग्ल्याण्ड एफएका नेश्नल लिग प्रमुख लरेन्स जोन्स लगायतलाई सम्मान गरे ।


समारोहमा मन्तव्य राख्दै राजदूत आचार्यले इंग्ल्याण्ड र नेपालबीचको ऐतिहासिक पहिलो फुटबल खेलले दुई देशबीच रहंदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न सहयोग पुर्याएको विश्वास व्यक्त गरे ।

खेल आयोजक अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिमले खेल सफल पार्न नेपाली पक्षबाट प्राप्त साथ, सहयोगप्रति आभार प्रकट गरे ।

इंग्ल्याण्ड एफएका नेश्नल लिग प्रमुख लरेन्स जोन्सले नेपालसंगको शुरु भएको फुटबल सम्बन्ध र सहकार्य अघि बढाउन इंग्ल्याण्ड तत्पर रहने उल्लेख गरे ।

सोही अवसरमा अल्डरसट एफसी अध्यक्ष अजिमले खेल सफल पार्न खटिएका नेपाली समुदायका स्वयमसेवक र प्रायोजकहरुलाई कदरस्वरुप मायाको चिनो वितरण गरेका थिए।
कार्यक्रम सञ्चालन लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् ।