५ असार २०८१, मंगलवार
Follow Us

गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८१, बुधबार १३:५७

काठमाडौं । गत प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धामा गरेर चर्चा कमाएका डा. निकोलस भुसालले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसँग माफी मागेका छन् ।

बुधवार गृह मन्त्रालय पुगेर उनले अघिल्लो दिन आफू पक्राउ परेपछि मन्त्री लामिछानेलाई गाली गलौच गरेकोमा आत्मग्लानि महसुस गरेर माफी माग्न आएको बताएका छन । गृह मन्त्रालयको ढोकामा उनले माफी मागे पनि गृहमन्त्री लामिछानेले लोकतन्त्रमा बोल्न पाइने भन्दै माफी माग्न आवश्यक नरहेको बताएका छन ।

भुसालले लामिछानेलाई भने– ‘मैले हिजो तपाईँको बारेमा धेरै नचाहिँदो बोलेँ, त्यसका लागि सरी भन्न आएको । अलि दुःख लाग्यो ।’

जवाफमा लामिछानेले भने– ‘केही छैन, लोकतन्त्रमा बोल्न पाइहालिन्छ नि । प्रहरीले आफ्नो काम गर्छ, देशै भरको प्रहरीलाई यसलाई समात, उसलाई नसमात भन्न मिल्दैन, उसको सिस्टमले समाउने हो । मैले नचाहिँदो काम नगर्नुस् भन्ने मात्र हो ।

केही छैन, तपाईंले सरी भन्नुपर्दैन, तपाईंको हौसला बुलन्द राख्नुस्, राम्रो काम गर्नुस्, अन्यायको विरुद्ध बोल्नुस्, न्यायको पक्षमा बोल्नुस्, राम्रो मान्छेलाई साथ दिनुस्, आवेग र उत्तेजना भन्दा पनि राम्रो कुरालाई छुट्टाउने प्रयास गर्नुस् । केही छैन तपाईंलाई सधै शुभकामना छ ।’