१४ असार २०८१, बिहीबार
Follow Us

गृहमन्त्रीले ‘समाचार लुकाउन’ आग्रह गरेको कान्तिपुरको दाबी

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०८१, शुक्रबार १२:०४

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि कान्तिपुर दैनिकमा आफू विरुद्धको समाचार रोक्ने असफल प्रयास गरेको आरोप लगाएका छन् ।

कान्तिपुरले समाचार रोक्न नमानेपछि मिडिया ग्रुपका सीईओ कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ ।

कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई कान्तिपुर दैनिककै कार्यालयबाट गत जेठ ८ गते पक्राउ गरेको थियो । ९ दिन हिरासतमा बसेपछि उनी गत १६ जेठमा हाजिर जमानीमा छुटेका थिए । त्यसको ८ दिनपछि कैलाशका छोरासमेत रहेका सम्भवले मुख खोलेका हुन् ।

उनले एक भिडिओ जारी गर्दै गृहमन्त्रीमाथि समाचार लुकाउने प्रयास गरेको गम्भीर आरोप लगाएका छन् । यद्यपि, यसको कुनै प्रमाण भने प्रस्तुत गरेका छैनन् ।