१४ असार २०८१, बिहीबार
Follow Us

विदेश पठाउने बहानामा १५ करोड ठगी गर्ने गिरोह पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार १३:४०

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुले विगत ३ ४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि प्रहरीको भनाइ छ ।

यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको छ ।