५ असार २०८१, मंगलवार
Follow Us

पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौँ : मन्त्री श्रेष्ठ

नेपालब्रिटेन संवाददाता
२ असार २०८१, शनिबार ०५:४६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज यहाँ आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरू नीतिगत रूपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाव दिएका हुन् । गत मङ्सिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिएका हुन् ।

“जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रूपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन”, उनले भने, “ पार्टीको विचार र नीति स्पष्ट रूपमा पार्टीकै जिम्मेवार सदस्यहरू र आम नागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ ।”

पार्टी स्थापनाका अवसरमा शुभकामना आदानप्रदान गर्दै मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताए । सत्ता साझेदार दलहरूसँगै आफूहरूले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उनको भनाइ थियो ।

“शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ”, मन्त्री श्रेष्ठले भने, “हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौ । वर्तमान राजनीतिक परिस्थितमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ ।”

त्यस अवसरमा उनले शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरूले पुरस्कार बापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिए। मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा आफ्नो एक सय दिनको प्रगति र समीक्षा गर्ने जानकारी समेत दिए ।