२९ भाद्र २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपालीको अधिकार सुरक्षित हुन्छ : डा. सूर्य पाठक, एमाले केन्द्रीय सदस्य

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०८१, शनिबार २०:२२

लण्डन । पूर्व सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकले गैरआवासीय नेपालीहरुको अधिकार सुरक्षित गर्न राज्यका सबै अंग जिम्मेवार हुनु पर्ने बताएका छन् ।

प्रवासी नेपाली मंच बेल्जियमले शुक्रवार एन्तोरपेन शहरमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै डा. पाठकले नेपालको संविधानको भावना अनुरुप गैरआवासीय नेपालीहरुले राजनीतिक बाहेकको सबै अधिकार प्राप्त गर्ने बताए ।

उनले गैरआवासीय नेपाली नागरिकता लिए पछि त्यसको कार्यान्वयनमा भएको दुविधाप्रति वर्तमान सरकार जानकार रहेको जानकारी दिदैं नागरिकता पूर्णरुपमा लागू गर्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

मंचका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गैरआवासीय नेपाली नागरिकता, सम्पतिको अधिकार लगायतका विषयमा डा. पाठकसंग जिज्ञासा राखेका थिए ।

कार्यक्रममा प्रवासीय नेपाली मंच अन्तराष्ट्रिय कमिटिका सदस्य शिव बरुवाल, युरोप सचिव शलिक थालिया, एनआरएनए केन्द्रीय सदस्य अर्जुन गुरुङ लगायतले आआफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रवासी नेपाली मंच बेल्जियमका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । सो कार्यक्रमको संचालन बुद्धि बरालले गरेका थिए ।