३२ असार २०८२, बुधबार
Follow Us

जाजरकोट र बझाङमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८१, सोमबार ०७:४४

जाजरकोट । जाजरकोट र बझाङमा पहिरोले घर पुरिदा दुई परिवारका ७ जनाको मृत्यु भएको छ । गएराति बझाङ बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको ज्यान गएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी दिए ।

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– २ माझगाउँमा माथिबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् ।

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।

धेरै पढिएको