१४ आश्विन २०८०, आईतवार
Follow Us

नेपथ्य युरोपतिर, अगस्त २ तारिख कोपेनहेगनमा प्रस्तुती दिने

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १२:५१

युरोपको दुइ गन्तब्यमा आफ्ना प्रस्तुती बोकेर लोकरक टोली नेपथ्य त्यसतर्फको यात्रामा अग्रसर भएको छ ।
ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुइ कन्सर्टका निम्ति ब्याण्ड बुधबार प्रस्थान गर्दैछ । टोलीको पहिलो प्रस्तुती जुलाइ ३० तारिखका दिन ह्याम्बर्गमा हुनेछ । त्यहाँस्थित ग्रुइन्सपानमा लोकभाकामा आधारित नेपथ्य आवाजहरु घन्काएपछि यो समूहले डेनमार्कको कोपेनहेगनस्थित अमागेर्वियोमा उपस्थिती जनाउनेछ । अगस्त २ तारिखका दिन त्यहाँ कन्सर्ट तय गरिएको छ ।
युरोपका दुइ राष्ट्र जर्मनी र डेनमार्कमा हुनलागेको यी दुवै नेपथ्यका पहिलो कन्सर्ट हुनेछन्।
‘नेपाली डायस्पोराको अझ फराकिलो घेरा समात्दै नेपथ्यको निम्ति विल्कुल नयाँ मुलुकमा प्रस्तुत हुनलागेकोमा म उत्साहित छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकसँग हामी रमाइलो मात्र होइन आफ्नो देश र समाजका चर्चा पनि गर्नेछौ।’
नेपथ्यको लोकप्रिय सूची मध्येबाटै दुइ घन्टाको प्रस्तुतीका लागि दर्शक स्वादलाई मध्यनजर गरेर उत्कृष्ठ गीतहरु छनौट गरिनेछन्। उहिलेदेखि श्रोताहरुको जिब्रोमा झुण्डिन सफल छेक्यो छेक्यो, जोमसोमे बजार, रेशम, तालको पानीहुँदै भर्खरै युट्युबमार्फत् रिलिज भएको नयाँ गीत ‘कोशीको पानी यो जिन्दगानी’… सम्म कार्यक्रममा गाइनेछन्।
भर्खरै रिलिज भएको यो पछिल्लो गीत यतिबेला सार्वजनिक गरेलगत्तै युट्युबको हिट सूचीमा पर्न सफल भइसकेको छ । श्रब्यदृश्यको सामाजिक सञ्जालमा राखेको केहि दिनमै यसले उल्लेख्य दर्शक पाइरहेको छ ।
गायक अमृतले पूर्वी नेपालको पहाडी भेगमा पदयात्रा गर्दा संकलन गरेको ‘कोशीको पानी यो जिन्दगानी’ लोकभाकामा आधारित गीत हो जसलाई नेपथ्यले आफ्नै पाराको फ्युजनमा उतारेर गाएको छ । संखुवासभाको चैनपुरमा बसोबास गर्दैआएका लोक गायक डिल्ले दमाइको संसर्गबाट अमृतले यो गीत प्राप्त गरेका हुन्।
अमृत गुरुङ गायनमाजत्तिकै पैदलै मुलुकका कुनाकाप्चामा पुगिरहने यात्रीको रुपमा पनि परिचित छन्। उनले हालसम्म ७५ मध्ये ७३ जिल्लाको भ्रमण गरिसकेका छन्। यसरी यात्रागर्दा उनले गरेका अनुभव र संकलन गरेका गीतका भाकाहरु नै नेपथ्यको मेरुदण्ड बन्दै आएको छ ।
‘पदयात्रा र कन्सर्टमा उभिएर गाउनु — यी दुइ कुराले नै मलाई उर्जा दिइरहेको छ,’ अमृत भन्छन्, ‘पैदल यात्रामा भोगेका अनुभवहरुले मलाई थप नयाँ गन्तब्य तय गर्न उर्जा दिइरहेको हुन्छ भने हरेक लाइभ कन्सर्टमा दर्शकसँगको अन्तक्र्रियाले मेरो साँगीतिक उडानमा इन्धन भर्दै लैजाने गरेको छ।’
दर्शकसँगको प्रत्यक्ष अन्तर्संवादमा अघि बढ्नु र शक्तिशाली प्रस्तुतीको आधार नै नेपथ्य कन्सर्टको मुख्य विशेषता रहँदै आएको छ । सामाजिक चेतना र जागरणका कुराहरुसँग मिसिएर आउने गीतहरुले दर्शकको मनका अन्तरकुन्तरसम्म हल्लाइदिने गरेको प्रतिक्रिया नेपथ्यले पाउँदै आएको छ । त्यसबाहेक ध्वनी, प्रकाश र श्रब्यदृश्यहरुको समायोजनबाट तयारहुने प्राविधिक जोडले दर्शक सन्तुष्टि बढाउन कन्सर्टलाई अझ विशेष बनाइदिन्छ।
‘युरोपको यो संक्षिप्त भ्रमणमार्फत् हामीले थोरथोरै नेपाली बसोबास रहेका स्थानहरुमा पनि नेपथ्यको पहुँच बढाउन सुरुगरेका छौं,’ नेपथ्यलाई प्रस्तुत गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ब्याण्डसँगको १५ वर्षे सहकार्यमा हामीले यसलाई मुलुक भित्रैका पचास साना ठूला वस्तीसम्म पु¥याउन सफल भइसकेका छौं।’
मुलुक भित्रमात्र नभइ बाहिर पनि नेपालीहरुको संख्या मात्र नहेरेर नेपथ्य र उसका दर्शकहरुको सम्बन्धको क्षितिजलाई अझ फराकिलो पार्दै लैजाने लक्ष्य आफूहरुको रहेको किरण बताउँछन्।
अमृतलाई सँधैझैँ ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले सघाउने छन्। नेपालयको प्राविधिक र व्यवस्थापकीय टोलीले पनि नेपथ्यसँगै यात्रा गर्नेछ ।
ह्याम्बर्गको प्रस्तुतीलाई त्यहाँस्थित तमु समाजले आयोजना गर्दैछ भने डेनमार्कमा ‘इन्टरनेशनल नेप्लीज आर्टिस्ट सोसाइटी’ले कार्यक्रमको बन्दोबस्त मिलाएको छ।