लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा पराजित आरके शर्माले आफुलाई विजेता घोषणाका माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। उनी गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष डा. बद्री केसीसँग गत ११ औं महाधिवेशनमा पराजित भएका थिए।
निवेदनमा ‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाइ गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११ औं महाधिवेशनबाट विधिवत रूपमा निर्वाचित हामी निवेदकहरूलाई काम गर्न दिनुका साथै प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेशको आदेश जारी गर्नका लागि माग गरिएको छ।
रिट निवेदकमा गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्वअध्यक्ष केशव पौडेल र कोषाध्यक्ष पदमा पराजित ठाकुर प्रसाद ढुंगाना पनि रहेका छन्।
यसअघि गत अक्टोबरमा सम्पन्न ११ औं महाधिवेशनमा धाँधली भएको भन्दै जर्मनीका दिपेश खत्रीले दायर गरेको सोही प्रकृतिको मुद्दा सर्वोच्च अदालतले गत महिना खारेज गरेको थियो।
संघका अध्यक्ष डा. बद्री केसीसँग निर्वाचनमा पराजित शर्माले विधिवत निर्वाचित भएको दाबी गरेका छन्।
स्मरणीय छ, सर्वोच्च अदालतको गत महिनाको फैसलाअनुसार डा. बद्री केसीले आधिकारिक रूपमा बालुवाटारस्थित कार्यालयबाट कामकाज गर्दै आएका छन्।
निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई अध्यक्षको हैसियतमा काम गर्न अन्तरिम आदेशको पनि माग शर्माले गरेका छन्। गैरआवासीय नेपाली संघ स्रोतका अनुसार गत अक्टोबरदेखि हालसम्म संघका अध्यक्ष डा. बद्री केसीविरुद्ध दर्ता भएका यस्तै प्रकृतिका ५ वटा मुद्दा खारेज भएका छन्।