काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज (सोमबार) बसेको बैठकमा सांसदहरुले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रश्न गरेका छन ।
आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको पार्टीलाई विभिन्न फौजदारी मुद्दाका आरोपित व्यवसायीले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर प्रश्न गरेका हुन । राज्य व्यवस्था समितिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहेको छ । सो छलफलमा अख्तियारका प्रमुख आयुक्त राई पनि सहभागी रहेका थिए ।
छलफलका क्रममा माओवादी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको दाबी गरीन् । उनले भनिन्, ‘आज अख्तियार टिम यहाँ छ । दानदातब्यको कुरा के हो ? भ्रष्टाचार हो कि होइन ? १० रोपनी जग्गा दान लिएकोलाई एमनेस्टीले भ्रष्टाचार भनेको छ ।’
व्यवसायी गुरुङले दान गरेको कीर्तिपुर नगरपालिकास्थित जग्गामा पार्टी कार्यालय शिलान्याससमेत भइसकेको छ । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसँगै व्यवसायी गुरुङ दम्पतीले दशैंको अष्टमीको दिन भवन शिलान्यास गरेका थिए । सांसद राईले थप प्रश्न गरिन्, ‘सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ?’
नेपाली काङ्ग्रेसकी सांसद सरिता प्रसाईंले पनि एमालेले पार्टी कार्यालयका लागि लिएको जगाबारे आजको बैठकमा प्रश्न उठाएकी छन । उनले भनिन्, ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ?’