लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधानका लागि सक्रिय संघका पूर्वअध्यक्ष शेष घलेलाई संस्थापन पक्षले लिखित पत्राचार गरेको खुलासा भएको छ।
उच्चस्तरीय समितिका संयोजकको दाबी गर्दै आएका घलेलाई महासचिव गौरीराज जोशीले आइतबार महाधिवेशन सम्बन्धी आवश्यक छलफल गर्न आग्रह गर्दै पत्राचार गरेका थिए। तर, घलेले संस्थापन पक्षको आग्रहमा छलफल नगरी एकतर्फी रूपमा संघको केन्द्रीय कार्यालयमा बैठक बोलाएका थिए।
घलेले सचिवालय वा कुनै पनि पदाधिकारीसँग परामर्श नगरी केन्द्रीय कार्यालयमा बैठक बस्ने पत्राचार गरेपछि उनी विवादमा तानिएका थिए। संघका अनुसार, मंगलबार संघको पूर्वनिर्धारित कार्यक्रमअनुसार केन्द्रीय कार्यालय बन्द थियो, तर घलेले त्यसलाई बेवास्ता गर्दै बैठकको घोषणा गरेका थिए।
उच्चस्तरीय समितिका सबै पदाधिकारीलाई पठाइएको पत्रमा सर्वोच्च अदालतको आदेशअनुसार बैठक आयोजना र सञ्चालन गर्नु अघि संघको वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदसँग छलफल गरी निकास निकाल्न अनुरोध गरिएको थियो। तर, घलेले महासचिवको संस्थागत प्रस्तावको बेवास्ता गर्दै आफ्नो निर्णयलाई अघि बढाएका थिए।
संघका स्रोतका अनुसार, घलेको नेतृत्वमा हुने भनिएको एकता महाधिवेशनलाई आवश्यक सहयोग पुर्याउन संस्थापन पक्षले वर्तमान कार्यसमितिसँग छलफल गरी प्रक्रिया अघि बढाउने तयारी गरेको थियो। यही प्रक्रियालाई सहज बनाउन घलेलाई पत्राचार गरिएको स्पष्ट गरिएको छ।