काठमाडौँ । चीन भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेट गरेकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ ।
विदेश मन्त्री वाङको निम्तोमा छेङ्दु पुगेकी राणाले दुई पक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन् । त्यस क्रममा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारी पनि सामेल रहेका छन् ।
परराष्ट्र मन्त्री राणा हिजो (बिहीबार) चीन भ्रमणमा गएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी त्यसतर्फ गएकी हुन् । परराष्ट्र मन्त्री राणा भोलि (शनिबार) स्वदेश फर्कने कार्यक्रम छ । उनी आगामी सोमबार प्रधानमन्त्री ओलीसँग पुनः चीन जानेछिन् ।