लन्डन । प्रवासमा हुर्की रहेका नेपाली बालबालिकाहरुलाई नेपालसंग जोड्न नेपाली भाषा कक्षाहरु संचालन गर्नु पर्ने सुझाव दिइएको छ।
एनआरएनए युके तथा नेप्लिज इन युकेद्वारा शनिबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित ‘सामाजिक संजालको प्रयोग र नेपाली भाषाको संरक्षण’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै कवि तथा लेखक नारायण गाउँलेले प्रवासमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली सिक्न उत्प्रेरित गर्नु पर्ने आवश्यकता रहेको बताए। उनले दोश्रो पुस्ताका नेपालीलाई नेपालसंग जोड्न भाषा एक महत्वपूर्ण माध्यम रहेको भन्दै संसारभरि रहेका नेपालीलाई एउटा ‘मुलुक’ मानेर नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए। एनआरएन अभियन्ता सेवानिवृत्त लेफ्टिनेन्ट चन्द्र गुरुङले आफुहरुले आफ्ना नानीहरुलाई नेपालसंग जोड्न प्रयास गरि रहेको र यसमा नेपाल सरकारले पनि मदत गर्नु पर्ने बताए। शैक्षिक अभियन्ता राजेन्द्र थापा मगरले नेपाली बच्चालाई नेपाली माटो, देश, संस्कृति र भूगोल चिनाउने एक मात्रै माध्यम भाषा भएको बताए। मर्जिंग नेपाल सक्सका अध्यक्ष पवन कडेलले क्याम्ब्रिज विश्वविद्यालयले ‘ओ’ लेभेलको नेपाली विषयको प्रश्नपत्रहरु तयार गरि रहेको भन्दै विदेशमा बसेर पनि नेपाली सिक्न सक्ने वातावरण बनाउन आग्रह गरे।
बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीले विभिन्न मुलुकमा संचालित नेपाली पाठशालाहरुमा गुणस्तरीय शैक्षिक सामग्री र दक्ष शिक्षकको अभाव रहेको बताए। उनले प्रविधिको प्रयोग गरी शैक्षिक सामग्रीको उत्पादन र वितरण गर्न तथा त्यस्तो काममा सघाउन सबै संघसंस्था र दूतावासहरुलाई आग्रह गरे।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाली भाषा, संस्कृति जोगाएर मात्रै नेपाली गौरव र नेपालीपन कायम राख्न सकिने बताए। उनले प्रवासमा हुर्की रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउदै नेपालसंग जोड्न दूतावासले पहल गर्ने र राज्यले पनि सहयोग गर्ने जनाए।
‘सामाजिक संजालको प्रयोग’ सम्बन्धी सत्रमा बोल्दै हाल बेलायतको भ्रमणमा रहेका ‘रुटिन अफ नेपाल बन्द, का संस्थापक भिक्टर पौडेलले नेपालमा सामाजिक संजाल नियमन गर्न आवश्यक भएको बताए। उनले सामाजिक संजालमा देखिएको बेथिति नियन्त्रण गर्न खबरदारी गर्ने निकाय हुनु पर्ने धारणा राखे ।
रबिन भारती, सुबाश शर्मा लगायत उपस्थित कार्यक्रममा ‘नेप्लिज इन युके’ का बिरेन्द्र नेपालले सबैलाई स्वागत गरेका थिए भने एनआरएनए युकेका उपाध्यक्ष मनीष खत्रीले कार्यक्रम संचालन गरेका थिए।