काठमाडौं । हाल भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय राजनीतिक नेतृत्वसँग भेटभाट नगर्ने भएकी छन् । राणाको अथक प्रयासका बाबजुद भारतीय नेतृत्वले उनलाई भेट्न नचाहेको हो । जर्मनीको राजधानी बर्लिनबाट राणा बिहीबार दिल्ली उत्रिएकी थिइन् ।
उनलाई स्वागत गर्न भारतीय अधिकारीहरु विमानस्थल आएनन् । यद्यपि उनको यो भ्रमण निजी भएको राणाको सचिवालयले जनाएको छ । गत भदौ पहिलो साता फलोअप उपचारका लागि राणा दिल्ली गएकी थिइन् । त्यतिबेला पनि उनको निजी भ्रमण थियो । तर, भारतले उक्त भ्रमणलाई औपचारिक भ्रमणमा परिणत गरिदियो ।
निजी भ्रमणका गएका बेला भारतले राणालाई भव्य स्वागत मात्र गरेन, प्रधानमन्त्री नरेन्द मोदी र समकक्षी एस जयशंकरसँग उनको भेटवार्ता नै भयो । भारतले गरेको स्वागत सत्कारबाट राणा र उनका पति काँग्रेस सभापति शेरबहादुर देउवा उत्साहित भएका थिए । यसपटक त्यस्तै अपेक्षा गरेर दिल्ली पुगेकी उनलाई भारतीय पक्षले ‘रातो बत्ती’ देखाइदिएको छ । यसपटक उनको स्वागतमा भारतीय अधिकारी विमानस्थल गएनन् ।
दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले राणाको स्वागत गरे । राणाले शुक्रबार काठमाण्डु विश्वविद्यालय र भारतको इग्रो फान्डेशनले दिल्लीमा आयोजना गरेको नेपाल–भारत आर्थिक सम्मेलनमा मुख्य वक्ताका रुपमा सहभागी भइन् । त्यसबाहेक उनको कुनै भेटघाट वा सार्वजनिक कार्यक्रम नरहेको राणाको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय श्रोतका अनुसार राणाले भारतीय समकक्षी जयशंकरलाई भेट्ने प्रयास गरेकी थिइन् । उनले भेट्न चाहेको खबर पुगेपछि जयशंकरले प्रधानमन्त्री मोदी र आफू कुबेत जान लागेको भन्दे भेट्न समय नभएको जवाफ पठाएका थिए । राणा १० पुसमा स्वदेश फर्कने कार्यतालिका छ ।
प्रधानमन्त्री केपी ओलीले सचिवालयले भने भारतमा राणाले उच्च राजनीतिक भेटवार्ता गर्ने दाबी गरेको थयो । राणाले ओलीको भारत भ्रमणको मिति तय गरेर आउने भन्दै प्रधानमन्त्रीको सचिवालयले ‘मिडिया ट्रायल’ नै गरेको थियो ।
पहिलोपटक भदौमा भएको भ्रमणमा पनि राणाले ओलीलाई भमणमा बोलाइदिन प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरलाई आग्रह गरेकी थिइन् । भारतीय पक्षले अनुकूलता हेरेर द्विीपक्षीय भ्रमणहरु तय गर्ने जवाफ दिएको थियो ।
तर, लामो समयसम्म भारतबाट सकारात्मक संकेत नआएपछि ओलीले मंसिर दोश्रो साता उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गरे । चीनबाट फर्किएर २० मंसिरमा भित्रुवन विमानस्थलमा ओलीले सञ्चारकर्मीसँग आफू अब भारत पनि जाने बताएका थिए ।